Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सुरु

इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सुरु

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २८ २०८०


इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सुरु

इलाम : इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम शुरुवात गरेको छ । गाउँपालिकाले शुक्रवारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा शुरु गरेको अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए ।

रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो’, अर्यालले भने ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।’

शुरुको दिन ११ वटा विद्यालयका तीन सय १० जना अभिभावक कक्षामा सहभागी भएका छन् । तीनजना स्नातकोत्तर सकेका अभिभावक पनि कक्षामा सहभागी भएका छन् । यो शिक्षाले अभिभावकलाई जिम्मेवार बनाउन सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभइ अभिभावकको पनि हुने भएकाले यो कार्यक्रम लागू गरिएको अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले अभिभावकलाई अब महिनाको एक दिन विद्यालयमै ल्याएर पढाउने, त्यस दिन कक्षा ८ भन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने उनको भनाइ छ ।

जानाजान अभिभावक शिक्षामा सहभागी नहुने अभिभावकलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने कार्यविधिमा उल्लेख छ । यसअघि नै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार