Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सरकारी अनुदान लिएर सूर्योदय नगरपालिका ८ को सयपत्रि सहकारीले उद्योग र जग्गा विक्री

सरकारी अनुदान लिएर सूर्योदय नगरपालिका ८ को सयपत्रि सहकारीले उद्योग र जग्गा विक्री

  • नमीन ढकाल
  • बुधबार, माघ २४ २०८०


सरकारी अनुदान लिएर सूर्योदय नगरपालिका ८ को सयपत्रि सहकारीले उद्योग र जग्गा विक्री
इलाम । कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले गत आर्थिक बर्ष २०७९÷८० मा कृषि अनुदानका ३१ अर्ब ८० करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । हरेक बर्ष ग्रामिण क्षेत्रमा कृषकहरुलाई आर्कषित गर्नका लागि सरकारले अनुदान दिँदै आएको छ । कोशी प्रदेशमा उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषिमा आधारित अनुदान कार्यक्रम अन्तर्गत चालु आवका लागि १६ करोड ७७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । तर अनुदानग्राहीले अनुदानको रकम दुरुपयोग गर्ने गरेको तथ्य बाहिर आएको छ । इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन सहकारीले चिया प्रशोधन र उद्योग स्तरोन्नती लागि प्रदेश सरकारबाट अनुदान लिएको ३ बर्षमा नै उद्योग र जग्गा नै विक्री गरेको तथ्य खुलेको छ ।
सहकारीले आर्थिक वर्ष ०७५÷७६ मा ३१ लाख रुपैयाँ अनुदान लिएको थियो । तर अहिले सहकारीमार्फत सञ्चालित उद्योग र जग्गा नै व्यक्तिलाई बिक्री गरिएको छ । मन्त्रालयसंग २०७६ असार १५ गते चिया प्रर्वद्धनका लागि भनेर सहकारीले सम्झौता गरेको थियो । प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको उद्योग आर्थिक रूपमा संकटग्रस्त भएको भन्दै ख्यामराज प्रधानलाई प्रशोधन केन्द्र बिक्री गरिएको छ ।
सरकारको अनुदानमा सञ्चालित केन्द्र हाल ख्यामराजले चलाउँदै आएका छन । सहकारीले घाटामा गएको भन्दै २०७९ माघ १६ गते १२ औ साधारणसभाबाट कन्याम–१ ख ४७८ कित्ता नम्बरको  २ रोपनी ६ आना ३ आना  १ दाम र कन्याम–१ ख ४७९ कित्ता नम्बरको १ रोपनी ८ आना ३ दामको जग्गा र कारखाना विक्री गर्ने निर्णय गरेको थियो ।  सहकारीले ३० लाख र कारखाना ७९ लाख २० हजार गरी १ करोड ९ लाख २० हजार रुपैयामा प्रधानलाई फागुन १६ गते राजिनामा पास गरेको देखिन्छ । प्रधानले अहिले जग्गा र कारखाना नेशनल टि प्रोडयुसर्सको नाममा नामसारी समेत गरिसकेका छन् ।
सहकारीले प्रदेश सरकारबाट मात्र अनुदान लिएको छैन् । केन्द्रीय चिया सहकारी संघबाट २०७८ माघ २० गते ८ लाख ५५ हजार अनुदान समेत लिएको छ । त्यसैगरी राष्ट्रिय सहकारी बैंकबाट ८ प्रतिशत ब्याजदरमा गरिबी निवारण कर्जा शिर्षकमा २०७७ माघ २९ गते १ करोड ऋण लिएको छ । सहकारीले चिया उत्पादनमा घाटा भएको भन्दै उद्योग र जग्गा विक्री गर्नु परेको देखाएको छ । सहकारीले उद्योग र जग्गा विक्रीबाट प्राप्त नगदले सहकारी बैंकको ऋण तिरेको सहकारीका सदस्य समेत रहेका  सूर्योदय नगरपालिका–८ का वडा सदस्य पदम गिरीले बताए । ‘ लेखनाथ खतिवडा हुँदा अनुदान लिएको हो । बिचमा सहकारी बैंकबाट ऋण समेत लिएका थियौ । विभिन्न कारणले घाटामा गएपछि ऋण तिर्नकै लागि उद्योग नै विक्री गर्नुपरेको छ ।’ उनले भने ‘ ऋण तिरेर केही पैसा बाँकी रहेको जानकारी पाएको छु । यकिन कति हो भन्ने बारेमा चाहि थाहा भएन् ।’ गिरीका अनुसार अनुदानको रकमले उद्योगको भवन निर्माण र केही मेसिनरी खरिद गरिएको थियो ।
नगरपालिका सहकारी शाखाले तयार गरेको प्रतिवेदनमा आर्थिक बर्ष ०७७÷७८ मा  ७ लाख ४२ हजार ११४ रुपैया र ०७८÷७९ मा ६३ लाख ९८ हजार ५०९ रुपैया ६ पैसा घाटा भएको सहकारीले जनाएको छ । अनुदान दुरुपयोग गरेको भन्दै अहिले सहकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दायर भएको छ । सूर्योदय नगरपालिका सहकारी शाखाले समेत अनुदान दुरुपयोग भएको फेला पारेर सहकारीको कागजात नियन्त्रणमा लिएर २०८० साउन १४ गते नगरपालिकामा पहिलो चरण राय पेश गरेको शाखा प्रमुख मदन गुरुङले बताए ।
‘ सहकारीले अनुदान दुरुपयोग गरेको जानकारी पछि कागजात झिकाएर अनुसन्धान गर्दा पुष्टि भएपछि नगरपालिका समक्षा पहिलो चरणमा राय पेश गरिसकेका छौ । दोश्रो चरणमा राय पेश गर्ने चरणमा छ ।’ उनले भने ‘घाटा भएको भए थप आर्थिक सहयोग खोज्नुपर्नेमा अनुदान लिएर सरकारी बजेट दुरुपयोग भएको देखिएकाले कारवाही प्रक्रिया अघि बढाएका हौ । अहिले अख्तियारमा समेत छानविन कार्य भइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार