नेपालले साफ यू-१९ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा भुटानलाई पराजित गरेको छ । बंगलादेशमा चलिरहेको प्रतियोगिताको दोस्रो खेलमा नेपाल १–० ले विजयी भएको हो । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ ले पराजित नेपालले यस जितसँगै फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ ।
नेपालका लागि आइतबार सेनु परियारले दोस्रो हाफमा गरेको गोल निर्णायक सावित भयो । उनले ५४ औं मिनेटमा अफसाइड ट्रयाप बिट गरेपछि गोलरक्षकलाई समेत छलाउँदै उत्कृष्ट गोल गरेकी थिइन् । प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा बंगलादेश र भारत खेल्दैछन् । भारतले पहिलो खेलमा भुटानलाई १०-० ले पराजित गरेको थियो ।
नेपालको २ खेलमा ३ तथा भारत र बंगलादेशको १ खेलमा ३/३ अंक छ । भुटान अंकविहिन छ । लिग चरणका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।