Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङ्मा गोल्डकप महिला फुटबलको तयारी तीव्र

पवित्रहाङ्मा गोल्डकप महिला फुटबलको तयारी तीव्र

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २१ २०८०


पवित्रहाङ्मा गोल्डकप महिला फुटबलको तयारी तीव्र

इलाम : पूर्वी पहाडको ठूलो धनराशी पुरस्कारको पवित्रहाङ्ममा गोल्डकप महिला फुटबल प्रतियोगिताको तीव्र पारिएको छ । २४ माघदेखि इलामको माङसेबुङ गाउँपालिका-५ स्थित धार्मिक क्षेत्र लारुम्बामा हुने १४ औं संस्करणको महिला फुटबलको तयारी तीव्र पारिएको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगितामा आउँदो २४ माघदेखि २ फागुनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलीको सहभागिता निश्चित भएको छ ।

नेपालबाट माङसेबुङ गाउँपालिका इलाम, नवदीप युवा क्लब मिक्लाजुङ मोरङ, कन्काई नगरपालिका झापा, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, दिपेन्द्र सिखर फुटबल क्लब इलाम र जनसहयोग युबा क्लब मोरङ सहभागी हुनेछन् । त्यसैगरी भारतबाट डिफेन्डिङ च्याम्पियन मानेभञ्याङ एफसी दार्जिलिङ र भुटानबाट विवाईसी भुटान सहभागी भएका छन् ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए ।

प्रस्तावित आत्मानन्द रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा दर्शका लागि बाँसको अस्थायी पारापेट निर्माण गरिएको छ । स्थायी पारापेट नभएका कारण दर्शकलाई मध्यनजर गर्दै बाँसको अस्थायी पारापेट निर्माण गरिएको अध्यक्ष आङ्बुहाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार