Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

साफ यु–१९ च्याम्पियनसिप : घरेलु टोली बंगलादेशसंग नेपाल पराजित

साफ यु–१९ च्याम्पियनसिप : घरेलु टोली बंगलादेशसंग नेपाल पराजित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ १९ २०८०


साफ यु–१९ च्याम्पियनसिप : घरेलु टोली बंगलादेशसंग नेपाल पराजित

इलाम । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको छ । शुक्रबार ढाकास्थित मुस्ताफा कमल रंगशालामा पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो ।

हारसँगै नेपाल महत्वपूर्ण तीन अंक जोड्न असफल रह्यो । अब नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । भुटानले पनि शुक्रबार उद्घाटन खेलमा भारतविरुद्ध १०-० को लज्जास्पद पराजय बेहोर्यो । सुरुआती हाफ एकपछि अर्को मौका सृजना गरेको बंगलादेशले अन्तिम पाँच मिनेट बाँकी छँदा दुई गोल गर्यो ।

४० औं मिनेटमा एमएसटी सागोरिकाले सहज गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । उनको लोअर प्रहार नेपाली गोलकिपर सुजता तामाङले बचाउन सकिनन् ।
पहिलो गोल गरेको तीन मिनेटमै बंगलादेशले दोस्रो गोल गर्यो । नेपाली अनियन्त्रित रक्षापंक्तिको फाइदा उठाउँदै मुन्की अख्तरले पहिलो बारमा अर्को सहज गोल गरिन्।

दोस्रो हाफको नवौं मिनेटमा कप्तान सारा बज्राचार्यको लिफ्टेड थ्रु पासलाई सदुपयोग गर्दै फरवार्ड सुक्रिया मियाले नेपालका लागि एक गोल फर्काइन् । बंगलादेशका गोलकिपर स्वर्ण राणा मण्डल अगाडि आएको अवस्थामा सुक्रियाले फाइदा उठाइन् । तर, त्यस्को तीन मिनेटमै बंगलादेशले अर्को गोल गर्यो ।

नेपालली रक्षक माया मास्केको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै एमएसटी सागोरिकाले सहज गोल गरिन् । यसअघि सागोरिकाले अगाडि बढेका गोलकिपर सुजतालाई बिट गरेकी थिइन् । यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार