Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगर सटही काउन्टरमा भारु साट्न कोही आएन

पशुपतिनगर सटही काउन्टरमा भारु साट्न कोही आएन

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ १८ २०८०


पशुपतिनगर सटही काउन्टरमा भारु साट्न कोही आएन

इलाम– भारतीय सीमावर्ती बजार पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा भारतीय रुपैयाँ (भारु) सटही हुन सकेको छैन । पर्यटकलाई लक्षित गरी चार महिनाअघि यहाँ सटही काउन्टर नै राखिएपनि भारतीय नोट लिन ग्राहक आउन छाडेका हुन् । पशुपतिनगर नाकामा लामो समयदेखि सटही काउन्टर माग भएको थियो । स्थानीयकै मागअनुसार वाणिज्य बैंकमा गत भदौमा काउन्टर खोलिएको थियो । तर, सुरु–सुरुमा दिनहुँ ५० देखि ६० जनासम्म ग्राहक आउनेगरेपनि अहिले नआउँदा भारु नोट के गर्ने भन्ने अन्योल भएको बैंकले जनाएको छ ।

शाखा प्रबन्धक राजन चम्लागाईंले अहिले भारु नोटको माग नै नभएको बताए । ‘माग धेरै आएपछि बैंकमा भारु नोट सप्लाई भयो, डिमान्ड चाहिँ भएन,’ उनले भने, ‘काउन्टर खुल्दा सुरुमा राम्रो कारोबार हुँदैथियो, केही महिनायता ठप्प भएको छ । भारु नोट चलायमान गराउन सकिएन ।’ नाकामा विशेषगरी भारतबाट नेपाल आउने र नेपालबाट भारततिर जाने पर्यटकलाई लक्षित गरी सटही काउन्टर खोलिएको हो । त्यतिमात्र होइन, यहाँका बासिन्दाले किनमेलका लागि प्रायः दार्जिलिङ, मिरिक र सिक्किमका बजार धाउने गरेकाले पनि नोट सटही काउन्टर आवश्यक थियो । काउन्टर नखुल्दा बैंकबाट नोट सटही हुनेगरेको थिएन ।

बैंकले अहिले नेपालपट्टिबाट भारततिर जाने व्यक्तिलाई एकपटकमा २५ हजार भारु नोट साटिदिन्छ । र, भारुबाट नेपाली रुपैयाँ १० हजार रुपैयाँसम्म साटिदिने गरेको छ । शाखा प्रबन्धक चम्लागाईंले यसरी सटही गर्दा प्रतिहजार १५ पैसामात्र बैंकले लिनेगरेको बताए । सीमावर्ती बजार भएका कारण यहाँको बैंकमा भारु नोटसमेत जम्मा गर्न सकिन्छ । स्थानीय भन्सार र यातायातका साधनको पटके करलगायतमा संकलन भएको राजस्व पनि प्रायः भारु नोट नै हुने भएकाले जम्मा गर्ने गरिएको बैंकले जनाएको छ ।

एक पटकमा १० हजार भारतीय रुपैयाँसम्म जम्मा गर्न सकिने उनले बताए । ‘नजिकै भारतीय बजार भएका कारण पनि यहाँ भारु नोट धेरै हुन्छ, त्यसैले हामी ग्राहकको १० हजार रुपैयाँसम्मको भारु पनि खातामा जम्मा गरिदिन्छौं,’ उनले भने, ‘तर, भारु नोट सयभन्दा मुनिको मात्रै चलनचल्तीमा छ ।’ उनले भारु नयाँ नोटमात्रै चलनचल्तीमा रहेको र पुराना नरहेको भन्ने आम मानिसको बुझाइ रहेको बताए । ‘कस्तो नोटलाई नयाँ र कस्तोलाई पुरानो भन्ने चाहिँ हामीलाई पनि अन्योल छ,’ उनले भने, ‘नयाँ र पुरानोको स्पष्ट मापदण्ड नहुँदा पनि सटहीमा केही बाधा परिरहेको छ ।’

पशुपतिनगरमा निजी क्षेत्रका सटही काउन्टरसमेत छन् । स्रोतका अनुसार ती काउन्टरले एक सय रुपैयाँ भारु साट्दा नेपाली एक सय ५० रुपैयाँमात्रै लिने गरेकाले पनि बैंकमा भएको भारु सटही हुन नसकेको हो । बैंकको काउन्टरमा भने एक सय रुपैयाँको भारु नोट पाउन एक सय ६० रुपैयाँ तिर्नुपर्ने प्रबन्धक चम्लागाईंले बताए । ‘हामीले त तोकिएकै दरमा लिनुपर्ने हुन्छ,’ उनले भने ।

पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको लामो समय बितेपनि त्यसबाट पर्यटकले सेवा लिन पाएका छैनन् । भारतपट्टि त्यही प्रकृतिको कार्यालय नहुँदा यहाँको अध्यागमन कार्यालय वर्षौंयता कामविहीन छ । यहाँ लामो समयदेखि भन्सार कार्यालयसमेत छ । तर, नाका खुला नहुँदा सुरक्षाकर्मीले बरामद गरेका सामान बुझ्नमै भन्सार कार्यालय सीमित छ । (पालिका पेजबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार