इलाम । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गरी ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने इलामकाे गजुरमुखी निर्माण सेवा सहित २२ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
गजुरमुखीलाई सडक डिभिजन नेपालगञ्जले २ बर्षका लागि कालाेसुचीमा राखेकाे हाे । डिभिजनले गजुरमुखीले नेपालगञ्ज-गुलरिया सडक निर्माणको काम अलपत्र पारेपछि गत साउनमा ठेक्का सम्झौता रद्द गरेकाे थियाे ।
कम्पनीले उक्त सडक चार लेनमा विस्तार गर्न २०७४ चैतमा ठेक्का पाएको थियो। तर कम्पनीले पटक-पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि ठेक्का तोडिएको डिभिजनले जनाएको छ।
कम्पनीले २१ करोड ४९ लाख रुपैयाँमा उक्त निर्माणको ठेक्का हात पारेको थियो । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
कालोसूचीमा परेका आपूर्तिकर्ताहरुमा श्री लोहनी एण्ड ब्रदर्स प्रालि चितवन, श्री जेजे विल्डर्स बाँके, श्री सर्मिला निर्माण सेवा, कालीकोट, श्री ओम गौरीशंकर इन्फास्ट्रक्चर प्राली लगायत छन् । ती कम्पनीहरूलाई न्यूनतम ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राखिने उल्लेख गरिएको छ ।
