इलाम । प्रथम इलाम गोल्डकपको उपाधिको लागि विर्तामोड युनाइटेड झापा र न्युरोड टिम (एनआरटी) काठमाण्डौ खेलमण्डल भिड्ने भएका छन् । इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै विर्तामोडले एनआरटीसंगको उपाधि भेट पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा ४–२ गोल अन्तरको जितका साथ विर्तामोडले फाइनलमा स्थान बनाएको हो । झापाको तर्फबाट दिवस उराउ, प्रदिप बुढाथोकी, रोहन कार्की र एन्जल गुरुङले गोल गरे । विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक प्रमिजय गच्छदारले रोक्न सफल भए ।
पाँचथरको तर्फबाट सुदिप श्रेष्ठ र उमेश राईको प्रहारले मात्र जाली चुम्यो । अशोक खवासको प्रहार गोलरक्षक सन्दिप लिम्बुले बचाए । बिजु भुजेलको प्रहार साइडबारमा लाग्दै गोल हुन सकेन् ।
खेलको म्यान अफ दि म्याच विर्तामोडका सन्जित राई घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ ।