इलाम । कप्तान देवा गुरुङ र निर्मल घिसिङ पेनाल्टी प्रहारमा चुक्दा बागमती युथ क्लब सर्लाही इलाममा जारी ‘प्रथम इलाम गोल्डकप’ को क्वाटरफाइनलबाट बाहिरिएको छ । ठुलो टुडिखेलमा जारी प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा बागमतीको चुनौती ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ४–३ गोल अन्तरले पन्छाएको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेटको खेल गोलरहित बराबरीमा टुङिगएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । ट्इब्रेकरको पहिलो गरेका कप्तान गुरुङको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले बचाएका थिए । घिसिङको प्रहार आकासिएको थियो ।
एनआरटीका लागि सरोज तामाङ, सनम लिम्बु, सुमित श्रेष्ठ र जया गुरुङले गोल गरे । बागमतीका बिमल घिसिङ, अविशेक महतो र आयुश रानाले गोल गरे । जितसँगै एनआरटीले बुधबार हुने पहिलो सेमीफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब इलामसँगको भेट पक्का गरेको छ ।
रेडहर्सले पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० ले रोक्दै सेमीफाइनलको यात्रा तय गरेको थियो । खेलको म्यान अफ द म्याच बागमतीका आयुस राना मगर घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लब र एनएसएल क्लब बुटबल–लुम्बिनीसंग प्रतिस्पर्धा गर्नेछ ।
रेडहर्स फुटबल क्बल इलामको आयोजनामा जारी गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ ।