पशुपतिनगर । कोशी प्रदेश सरकारले इलामको नेपाल भारत सीमा नाका पशुपतिनगरमा सवारीसाधनको बाटो इजाजत राजश्व संकलन केन्द्र स्थापना गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पशुपतिनगर व्यापारिक केन्द्रमा पटके सवारी बाटो इजाजतको राजश्व संकलन केन्द्र स्थापना गरेको हो ।
राजश्व संकलन केन्द्र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले उद्घाटन गरेका थिए । यातायात व्यवस्था कार्यालय इलाम मार्फत संचालन हुने राजश्व संकलन केन्द्रमा भारतबाट नेपाल प्रवेश गरेका सवारीधनीलाई राजश्व कटाएर उद्घाटन गरिएको थियो ।

पशुपतिनगर नाका हुँदै नेपाल भ्रमणका लागि पर्यटक लिएर आउने सवारीसाधनहरुले सडकको पटके कर काट्न इलाम र झापा पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यका साथ राजश्व संकलन केन्द्र स्थापना गरिएको हो । संकलन केन्द्र स्थापना भएपछि प्रदेश सरकारको सीमा क्षेत्रमा पहुँच बढ्नुका साथै वार्षिक डेढ करोड बढी राजश्व संकलन हुने यातायात व्यवस्था कार्यालय इलामका प्रमुख छविलाल खतिवडाले बताए ।

इलामको पशुपतिनगर नाका हुँदै दैनिक एक सय बढी भारतीय सवारीसाधनमा पर्यटकहरु नेपालका विभिन्न पर्यटकीयस्थल भ्रमणका लागि आउने गरेका छन् । पटके सवारी कर संकलन गर्ने स्थापनाका लागि सूर्योदय नगर उद्योग बाणिज्यले २ वर्षदेखि प्रदेश सरकारसँग माग गर्दै आएको थियो । कर संकलन केन्द्र स्थापना भएपछि भारतीय सवारीसाधनलाई बिषेशगरि सुविधा पुगेको सुर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । कर संकलन केन्द्र नहुँदा भारतीय सवारीसाधन राजमार्गमा ट्राफिक प्रहरीको चेकजाँचमा परि जरिवाना गर्नुपर्ने अवस्था थियो राईले भने–‘हाम्रो माग पुरा भएको छ र भारतीय पर्यटकहरुले सेवा पाएका छन् ।’

उद्योग बाणिज्य संघको मागलाई प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समसेर राईले चाँडो कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री राईले पशुपतिनगर नाकाको अनुगमन समेत गरेका थिए । कर संकलन केन्द्रको उद्घाटन सत्रमा बोल्दै यातायात व्यवसायी मिलन क्षेत्रले पशुपतिनगर क्षेत्रमा अति आवश्यक रहेको पटके कर संकलन केन्द्रले भारतीय पर्यटकहरुमा आईपरेको समस्या हटेको बताए । कार्यक्रममा बोल्दै सुर्योदय नगरपालिका २ का वडाअध्यक्ष डिक बम्जनले पर्यटकीय क्षेत्र पशुपतिनगरमा पटके सवारी कर संकलन केन्द्र स्थापनाले भारतीय पर्यटकलाई बिषेशगरि फाइदा पुग्ने बताए ।
कर संकलन केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै पशुपतिनगर भन्सार कार्यालयका प्रमुख प्रविन लिम्बुले नेपाल प्रवेशको अनुमति भन्सार कार्यालयबाट पाएपछि पटके कर काट्ने व्यवस्था नहुँदा समस्याको गुनासो भएपनि अब हटेकाले प्रदेश सरकारको राजश्व संकलनमा समेत योगदान पुग्ने बताए ।
