इलाम । राष्ट्रिय जागृति क्लब इटहरीको चुनौती ३–० गोल अन्तरले पन्छाउँदै विर्तामोड युनाइटेड झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको अन्तिम ४ मा प्रवेश गरेको छ । विर्तामोडको जितमा हिसुव थपलिया र प्रशान्त लक्समले गोल गरे ।
खेलको ३९ औ मिनेटमा थपलियाले विर्तामोडको लागि पहिलो गोल गरे ।
खमिर गिल्सन कन्दङवाको प्रहार बार लागेर फर्किएपछि थपलियाले गोल गरे । पहिलो हाफमा १–० ले अग्रता बनाएको विर्तामोडका लागि ५१ औ मिनेटमा थपलियाले अग्रता दोब्बर बनाए ।
पेपेले बल क्लियर गर्ने क्रममा कर्नर भएपछि लक्समले गरेको प्रहारमा देवेन्द्र तामाङको हेडर पासमा थपलियाले हेडर मार्फत नै गोल गरे ।
८६ औ मिनेटमा लक्समले विर्तामोडको लागि तेश्रो गोल गरे । इटहरीका गोलरक्षक राजेश खड्का बल क्लियर गर्नका लागि डिबक्स बाहिर आएका मौकामा लक्समले गोल गरे ।
खेलको म्यान अफ दि म्याच थपलिया घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सोमबार न्युरोड टिम (एनआरटी) र बागमती युथ क्लब विच हुनेछ ।