Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

योजना संझौता र फरफारक वडा कार्यालयबाट गर्दै इलामको रोङ गाउँपालिका

योजना संझौता र फरफारक वडा कार्यालयबाट गर्दै इलामको रोङ गाउँपालिका

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ ६ २०८०


योजना संझौता र फरफारक वडा कार्यालयबाट गर्दै इलामको रोङ गाउँपालिका

रोङ (कुटिडाँडा) । इलामको रोङ गाउँपालिकाले योजना संझौता र फरफारकको काम वडाबाटै गर्ने निर्णय गरको छ । रोङ गाउँपालिकाले पालिकाबासीले योजना संझौता र भुक्तानी गर्न प्रमुख प्रशासनिक सेवा कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न वडाबाटै सेवा दिने निर्णय गरेको हो ।
उपभोक्तामा योजना संझौता र भुक्तानीको काम गर्दा यातायात खर्च धेरै हुने भएकाले वडा कार्यालयमा संझौतासँगै फरफारक गर्ने काम शुरु गर्ने भएको हो । विकासका योजनाहरु संझौता, फरफारक र भुक्तानी लिन आउँदा आवश्यक कागजपत्र पुरा गर्न उपभोक्तालाई पुनः वडामा फर्कनुपर्दा सास्ति हुने भएकाले गाउँपालिकाले योजना संझौता र फरफारक वडामै गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (तामाङ)ले बताए ।
‘योजना संझौता गर्दा र भुक्तानी गर्दा पुरा कागज नपुग्ने गरेका कारण उपभोक्ता जनप्रतिनिधिसँग रिसाउने गरेका छन्’–अध्यक्ष स्याङबोले भने–‘भुक्तानी दिएपछि उपभोक्ता समितिबाट पुनः कागज पुरा नहुने समस्याले बेरुजु लेखिने भएकाले वडामै सबै काम गर्ने निर्णय भएको हो ।’ वडाबाटै योजना संझौता, फरफारक गर्नका लागि गाउँपालिकाले योजना सफ्टवेयर जडान गरि काम अघि बढेको हो । सफ्टेयरबाट योजना संझौताको काम वडा कार्यालयबाटै हुनेछ ।
योजनाको संझौतापछि काम गरि फरफारकको कागजात पनि वडाबाट सफ्टवेयरमा कागजपत्र मिलाएपछि भुक्तानीको लागि मात्रै उपभोक्ता समितिका सदस्यहरुलाई प्रमुख प्रशासनिक सेवा केन्द्रमा आउनेपर्ने व्यवस्था गाउँपालिकाले गरेको छ । जसले उपभोक्ताहरुलाई योजना संझौता गर्दा, कागजपत्र नपुगे पुनः वडा फर्कनुपर्ने बाध्यताको अन्त्य हुने उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् ।
वडाबाट योजना संझौता कार्यान्वयनका लागि कर्मचारीहरुलाई तालिम दिने काम सकिएको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयन हुने भएकाले प्रविधिक सामग्रीहरु पनि खरिद गर्ने काम सकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार