Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बालबालिकाको सारथी बन्दै इलाम नगरपालिका

बालबालिकाको सारथी बन्दै इलाम नगरपालिका

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ५ २०८०


बालबालिकाको सारथी बन्दै इलाम नगरपालिका

इलाम : इलाम नगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिका भित्रका आधारभूत विद्यालयहरूमा अध्ययनरत बालविकास देखि ५ सम्मका झन्डै ८ सय जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । इलाम नगरपालिका प्रमुख केदार थापाले आफ्नो कार्यकालमा शुरुआत गर्नु भएको कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा सुरु गरेका हुन ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काका अनुसार इलाम नगरपालिकाले शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ । चिसोका कारण विद्यालय जान रोकिन नपरोस् भनेर बाल कक्षा देखि ५ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

यता नगर प्रमुख केदार थापाले सामुदायिक विद्यालय तर्फको आकर्षण र शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिए । न्यानो कपडा पाएपछि विद्यार्थी समेत खुशी भएका छ्न भने अभिभावकले समेत नगरपालिकाको यो काम स्वागतयोग्य रहेको बताएका छन् ।

नगरले पहिलो चरणमा नगरपालिका भित्रका १४ विद्यालयका ७ सय ७७ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरणको कार्यक्रम रहेको छ । इलाम नगरपालिका भित्र ४८ वटा सामुदायिक र २५ वटा संस्थागत विद्यालय छन् । ती मध्ये २६ वटा आधारभूत तहका विद्यालय छन् । यस्तै यस अघि नगरपालिकाले जेष्ठ नागरिकलाईसमेत न्यानो कपडा वितरण गरिसकेको छ ।

नगरभित्रका जेष्ठ नागरिकहरुलाई चिसो बाट जोगाउन नगरले न्यानो कपडा वितरण गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार