Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम गोल्डकप : एनएसएलका खेलाडीको दवदवा हुने आयोजकको विश्वास

इलाम गोल्डकप : एनएसएलका खेलाडीको दवदवा हुने आयोजकको विश्वास

  • नमीन ढकाल
  • बिहिबार, माघ ४ २०८०


इलाम गोल्डकप : एनएसएलका खेलाडीको दवदवा हुने आयोजकको विश्वास

इलाम । इलाममा आगामी माघ ६ गतेबाट पहिलो संस्करणको इलाम गोल्डकप हुँदैछ । ठुलो टुडिखेलमा हुने प्रतियोगिताको डेब्यु संस्करण भएको कारण आयोजक केही तनाबमा देखिएको छ । प्रतियोगिताको मिति नजिकिएसंगै मुख्य प्रायोजक नपाउँदा तनाबमा रहेको आयोजकलाई गैर आवासिय नेपाल संघ (एनआरएन) ले प्रायोजन गरेपछि केही ढुक्क देखिए । तर अर्को समस्या देखियो टिमको । ए डिभिजनका शिर्ष क्लबहरु मनाङ मस्र्याङदी, थ्रीस्टार, त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस र मछिन्द्र क्लब इलामेहरुको रोजाईमा पर्ने गरेको थियो ।

शिर्ष ए डिभिजन क्लबका खेल हेर्न इलामेलीहरुको टुडिखेलमा घुइचो हुने ग¥थ्यो । तर अपेक्षा राखेका दर्शकहरु अहिले आफ्नो रोजाईको टिम नभएको खिन्नता सामाजिक सञ्जालमा पोखिरहेका छन् । आयोजक रेडहर्स फुटबल क्लबले अन्तिम तयारीको बारेमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा मात्र जानकारी गराएन् सहभागी हुने टिमका महत्वपुर्ण खेलाडीहरुको बारेमा समेत सामान्य जानकारी दिएको छ ।

घरेलु टोली रेड हर्स राष्ट्रिय टोलीका सदस्य उत्सव राई, पुर्व राष्ट्रिय खेलाडी छिरिङ गुरुङ, शरण बस्नेत, विशाल तामाङ लगायतका खेलाडीहरु सहित मैदान उत्रनेछ । छिरिङ, शरण र उत्सवले भरखरै सम्पन्न नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका छन् । तामाङले जावलाखेलबाट ए डिभिजन लिग खेलेका थिए । उनले विश्वकप छनौटका लागि राखिएको राष्ट्रिय टिमको क्याम्पसमा समेत स्थान बनाएका थिए ।

पत्रकार सम्मेलनमा अफ्रिकन खेलाडीको बारे प्रश्नमा आयोजक समितिका सदस्य एवम एन्फा पुर्व केन्द्रीय सदस्य निरोज खड्गीले इलामका खेलाडीहरुलाई एक्सपोजर दिइने बताए । उनले आर्थिक र समय अभावका कारण खेलाडीहरुलाई क्लोज क्याम्पमा नराखिएको भएपनि खेलाडीहरु काठमाण्डौ लगायत विभिन्न क्षेत्रमा ट्रेनिङ र प्रतियोगितामा नै व्यस्त भएको बताए ।

त्यसैगरी पाँचथर एफसीबाट बिमल घर्ती मगर सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मछिन्द्र क्लबका सोनाम जाङ्पो भुटिया, थ्रीस्टारका अशोक खवास, जावलाखेलका कप्तान एवम विरगञ्ज युनाइटेडका सिमान्त थापा, एफसी चितवनका राजेश परियार, बिरगञ्ज युनाइटेड एवम जावलाखेलका सुनिल खड्का सहभागी हुँदैछन् । नेपाल सुपर लिगमा छैटौ स्थान कायम गरेको बुटबल लुम्बिनीबाट यु–२३ राष्ट्रिय टोलीका असिम भुसाल, यु–२० का मनग्य नकर्मी, सन्तोष महत, निराजन धार्मी, स्टेफेसन विनोङ समिर, लेवनानी गोलरक्षक मोहम्मद ताहा, बियिक, सङ्ग र मार्टिन सहभागी गराउने भएको छ ।

असिम, निराजन र सन्तोष चीनको चिङ्घाई युवा फुटबल क्लबसंगको मैत्रीपुर्ण खेलमा नेपाली युवा टिममा समेत परेका छन् । ताहा धनगढी एफसीबाट खेलेका छन् । स्टेफेन समिर पछिल्लो समय नेपाली फुटबलमा चम्किएका क्यामरुनी खेलाडी हुन् । उनले यसअघि समेत इलाममा खेलिसकेका छन् । अजयी मार्टिन थ्रीस्टारबाट इलामको मैदानमा फरवार्ड खेल्दै मन जितेका थिए । तर मार्टिनको सहभागिता सुनिश्चित छैन् । भिषा अवधि सकिएर पनि जावलाखेल विरुद्धको खेलमा थ्रीस्टारबाट देखिएको भन्दै विभागीय टोली एपिएफले उजुरी गरेको थियो । सोही आधारमा दोषि ठहर हुँदै उनलाई एन्फाले कारवाहीसंगै ५० हजार जरिवाना गरेको थियो ।

विर्तामोड युनाइटेडले अधिकांश खेलाडी काठमाण्डौ रेजर्सको उतार्दैछ । काठमाण्डौ रेजर्सका मार्की खेलाडी एवम नेपाल राष्ट्रिय टिमका सदस्य हिसुव थपलिया, काठमाण्डौको गोलरक्षक अविशेक बराल, मौसम सुब्बा, खमिर गिल्सन कन्दङवा, स्र्पोटिङ इलामका स्ट्राइकर आशिष चापागाई, एनएसएल च्याम्पियन ललितपुर सिटीका सञ्जित राई, धनगढी एफसीका कप्तान एवम राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङ, अविशेक गुरुङ, झापा एफसी तथा नेपाली यु–१८ टिमका पुर्व कप्तान विशाल बस्नेत, यु–१९ का प्रशान्त लक्सम लगायतलाई मैदान उतार्ने तयारीमा रहेको छ । प्रशान्त समेत चीन विरुद्धको खेलमा सहभागी हुँदैछन् ।

सुरेन्द्र तामाङ, रितेष थापा लगायतका खेलाडीलाई स्थापित गरेको राष्ट्रिय जागृति क्लब इटहरीले यस पटक गोलपोष्टमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक दिप कार्कीलाई उतार्ने तयारी छ । कार्की नेपाल सुपर लिगमा विरगञ्ज युनाइटेडका कप्तान थिए । नेपाल सुपर लिगमा काठमाण्डौ रेजर्सबाट खेलेका मोरङका विवेक पौडेलले एफसी चितवन विरुद्ध गरेको भली गोलको सर्वत्र चर्चा भएको थियो । धनगढी एफसीका फोडे फोफोना, झापा एफसीका हरि कार्कीसंगै राष्ट्रिय जागृतिकै उत्पादन प्रवेश दनुवार समेत हुनेछन् । प्रवेशले नेपाल सुपर लिगमा काठमाण्डौबाट खेलेका थिए ।

नेपालमा एकाडेमीबाट खेलाडी उत्पादन गर्ने क्लब सलार्हीको बागमती युवा क्लब हो । राजषी जनक कप आयोजना गर्दै आएको क्लबको उत्पादन ३ जना खेलाडीले सन् २०२२ मा साफ यु–२० मा स्थान बनाएका थिए । अविश्वसनिय नतिजा निकाल्न माहिर टोलीले २०७८ को खप्तड गोल्डकपमा ए डिभिजन टोली न्युरोड टिमलाई समेत हराएको थियो ।

नेपाल र भारतको सिमानामा पर्ने मानेभञ्ज्याङ फुटबल क्लबले पुर्वको धेरै जसो प्रतियोगितामा भाग लिने गरेको छ । माईभ्याली गोल्डकपको २०७६ को संस्करणमा समेत सहभागिता जनाएको टोलीले झापा–११ लाई हराउँदै सेमीफाइनलसम्म पुगेको थियो । यस पटक आइ लिग र सिक्किम प्रिमियर लिगमा सहभागी खेलाडीहरु मानेभञ्ज्याङमा देख्न सकिन्छ ।

२०७९ को ए डिभिजन लिगमा त्रिभुवन आर्मी, मनाङ मस्र्याङदी, थ्रीस्टार र एपिएफ जस्ता क्लबलाई पछि पार्दै छैटौ स्थान सुरक्षित गरेको न्युरोड टिम (एनआरटी) समेत इलाम गोल्डकपमा देख्न सकिन्छ । पोखरा थन्डर्सका गोलरक्षक प्रिसो न्यरोड टिमबाट हुनेछन् । यु–२० राष्ट्रिय टिमका खेलेका रोशन राना, गोलरक्षक पुजन होना, अशोक थापा, जय गुरुङ लगायतका खेलाडी हुनेछन् । पुजन चीन विरुद्धको टोलीमा समेत छन् । विक्रम धिमाल, सरोज तामाङ, लगायतका खेलाडी समेत न्युरोड टिममा छन् ।

आयोजकले खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारापिट निर्माण, मैदानको तल्लो भागमा पर्खाल लगाएर सम्याउने, मैदान अझ सजिलो बनाउने काम, स्टेजलगायत सबै तयारी पूरा भएको जनाएको छ । करिब ६० लाख रुपैया लागत अनुमान भएपनि केही बढ्न सक्ने क्लबका सचिव प्रकाश घिमिरेले बताए । खेलाडीहरुको बसोबास र म्याच फि का कारण केही लागत बढ्न पुग्ने उनले बताए ।

हालसम्म २५ लाख बराबरको खर्च भएको उनले बताए । आयोजकले गेट मनीबाट पैसा उठ्ने अपेक्षा राखेको छ । क्वाटरफाइनलको खेलमा १ सय, सेमीफाइनलमा २ सय र फाइनलको ३ सय टिकट दर राखिएको छ । विद्यार्थीहरुलाई लक्षित गरेर नै टिकट दर घटाइएको उनले बताए । खेल अवलोकन गर्न अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन । विधागत उत्कृष्ट खेलाडीको समेत पुरस्कार व्यवस्था गरिएको छ । ६ गते हुने उद्घाटन समारोहमा इलाम गोल्डकप गानमा स्वर दिएका इलामे गायक यम बराल र भ्वाइस अफ् नेपाल सिजन ५ विजेता इलामे विनोद राईको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार