इलाम । नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। उनका अनुसार हालसम्म चार यात्रुको मात्र सनाखत हुन सकेको छ।
मृत्यु हुनेहरुमा ६० वर्षे कुसुम बस्नेत, ३९ वर्षे सौरभ विष्ट, ६५ वर्षे तारानाथ पाण्डे, ३१ वर्षे भारतीय नागरिक मुने छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन। शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ।
दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
उनका अनुसार पाँच वटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो। दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो।