इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित ‘प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता’को उपाधि चुमेको छ ।
विजेता भएसँगै माङसेबुङले नगद पाँच लाखसहित अढाई तोला सुन र दुई सय तोला चाँदीबाट निर्मित ट्रफी तथा मेडल पाएको छ ।
आज (शुक्रबार) सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलान्तरले स्तब्ध बनाउँदै माङसेबुङले उपाधि हात पारेको हो ।
उपविजेता मानेभञ्ज्याङले नगद तीन लाख, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ ।मानेभञ्ज्याङ गाउँपालिकाले वडा ३ उँबु ब्ओकुला खेलमैदानमा आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रतियोगिता पुस १७ देखि सञ्चालन भएको थियो ।
आफ्ना खेलाडीलाई हौसला दिन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईसहित उपाध्यक्ष विनोद नेम्बाङ, सामाजिक विकास समिति संयोजक तथा वडा ६ अध्यक्ष प्रदीप साङपाङ राई, वडा ४ अध्यक्ष नवीन लिम्बूसमेत प्रतियोगितास्थल पुगेका थिए ।
माङसेबुङका खेलाडीलाई व्यवस्थापन तथा प्रशिक्षणका लागि गाउँपालिका प्रवक्ता सुसन राई र माङसेबुङ खेलकुद समिति सदस्य धनकुमार राई सुरुदेखि नै खलाडीका साथमा थिए ।
जिल्लाबाट निकै टाढा रहेको मानेभञ्ज्याङसम्म खेलाडी सहभागी गराउन पालिका उपाध्यक्ष नेम्बाङले समन्वय गरेका थिए । आशिष लिम्बूको कप्तानीमा माङ्सेबुङ मैदान उत्रेको थियो ।