सन्दकपुर (कालपोखरी) । इलामको उत्तरी गाउँपालिका सन्दकपुरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई गाउँमै गएर सेवा दिने एकिकृत घुम्ति शिविरको समापन भएको छ । नेपाल भारत सीमा क्षेत्रका बस्तिहरुमै पुगेर गाउँपालिकाले सेवा दिने योजना साथ दुई दिने घुम्ति शिविर आयोजना गरेको हो ।
सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई व्यवसाय दर्ता, नविकरण, स्वास्थ्य उपचार, पशु उपचार र कृषि बिऊ बिजन वितरणसँगै परामर्स सेवा गाउँपालिकाले वडा नम्बर ५ को जौबारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, चौरीचौक, सन्दकपुर डाँडा, आहालभञ्ज्याङ्ग क्षेत्रमा पुगेर पालिकाले सेवा दिएको हो ।
गाउँपालिकाबाट दिइने सेवा एकिकृत रुपमा गाउँमै शिविर संचालन गरि दिने योजना अनुसार जौबारीबाट बिहिबारबाट शुरु गरिएको थियो । पालिकाको प्रमुख प्रशासनिक केन्द्र पुग्न धेरै खर्च हुने क्षेत्रमा गाउँपालिकाको कर्मचारीको टिम पुगेर सेवा दिएको अध्यक्ष तुलाराम गुरुङ्गले बताए । घुम्ति शिविरमा व्यवसाय दर्ता २१ वटा भएका छन् ।
शिविरमा स्वास्थ्यकर्मी सहितको टोलीले स्थानीयबासीको स्वास्थ्य जाँच गरि निशुल्क उपचार गरिएको हो । शिविरमा ८० जना स्थानीयबासीले स्वास्थ्य जाँच र निशुल्क औषधि वितरण प्राप्त गरेका छन् । शिविरमा पशुहरुको पनि उपचार समेत घर गाउँमै पुगेर गरिएको उपाध्यक्ष हरि लुङ्गेलीले बताए । शिविरमा २ सय वटा पशुपक्षिहरुको उपचार र औषधि वितरण गरिएको थियो ।
शिविरमा ३० वटा घरपालुवा कुकुर र बिरालोलाई निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाइएको थियो । पशुपालक किसानलाई निशुल्क औषधि वितरण गरिएको हो । त्यस्तै गाउँपालिकाको कृषि शाखाबाट निशुल्क रुपमा तरकारी खेती, फलफुल खेती सम्बन्धि परामर्स सेवा र बिऊ बिजन वितरण गरिएको थियो । शिविरमा ४५ जना किसानलाई लेकाली क्षेत्रमा खेती हुने तरकारी मुला, गाँजर, कोपि लगायतको बिऊ बिजन वितरण गरिएको थियो ।
गाउँपालिकको टोलीले जौबारी बजार समेत अनुगमन गरिएको थियो । सन्दकपुर गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख युवराज नेपालको नेतृत्वमा जौबारीमा पुगेको एकिकृत घुम्ति टोलीमा राजश्व शाखा प्रमुख पवन भट्टराई, पशु सेवा शाखा प्रमुख सविन भट्टराई, कृषि शाखाका रोशन खतिवडा, गाउँपालिका कर्मचारी रमेश भट्टराई, निपेश फुयलको सहभागिता रहेको थियो ।
राजश्व परामर्श समिति सदस्य तथा वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जा, वडा नम्बर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ्ग, वडा नम्बर २ काा अध्यक्ष सनम राई, कार्यपालिका सदस्य छत्र दियाली र नरमाया थेवेको पनि उपस्थिति रहेको थियो । एकिकृत घुम्ति शिविर ग्रामीण क्षेत्रका नागरिकलाई घर गाउँमै सेवा दिने उदेश्यका साथ गरिएको बताए ।
घुम्ति शिविर नेपाल भारत सीमा क्षेत्रको जौबारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, सन्दकपुर र आहाल क्षेत्रमा आगामि दिनमा पनि संचालन गरिने सन्दकपुर २ का अध्यक्ष सनम राईले बताए । दुई दिनसम्म संचालन भएको शिविरमा सिमा क्षेत्रका नागरिकहरुले गाउँमै सेवा पाएपछि खुसि भएका छन् ।