Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माईका सामुदायिक विद्यालयलाई सिकाइयो व्यवस्थापन सीप

माईका सामुदायिक विद्यालयलाई सिकाइयो व्यवस्थापन सीप

  • विमल कुमार दाहाल
  • मंगलबार, पौस १७ २०८०


माईका सामुदायिक विद्यालयलाई सिकाइयो व्यवस्थापन सीप

इलाम (माई) । ‘समावेशी र सीपमूलक शिक्षा स् स्वदेशमै युवा राष्ट्रको इच्छा’ नारासहित सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीको क्षमता विकास तालिम मंगलबार माई नगरपालिकामा सम्पन्न भएको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न दुईदिने तालिम समापन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले तालिमबाट सहभागीले विद्यालय व्यवस्थापनको सैद्धान्तिक, कानुनी र प्राविधिक विषयबारे जानकारी प्राप्त रहेको बताए । ‘एउटा बीउ रोप्यो भने त्यसले फल दिन्छ’ भन्दै उनले व्यवस्थापन समितिको नियमित बैठक गर्न र विद्यालयको अपनत्व लिँदै कम्तीमा दिनको एकपटक विद्यालय पुग्न सहभागीलाई आग्रह गरे ।

नगरपालिकाका ४४ सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारी सहभागी रहेको तालिमलाई शिक्षा शाखा प्रमुख सीता लावती र शाखाका केशव खनालले सहजीकरण गरे ।

तालिम समापनमा सहभागीको तर्फबाट चक्र कटवाल र कल्पना बिश्वकर्माले तालिम महत्वपूर्ण रहेको बताए । तालिमको व्यवस्थापन शिक्षा शाखाकी इन्द्रकुमारी लिम्बू र निरुता थापाले गरेका थिए । नगरमा कक्षा १ देखि १० सम्म १० वटा, कक्षा १ देखि ८ सम्मका आधारभूत विद्यालय पाँच वटा, कक्षा १ देखि ५ सम्मका २२ वटा र कक्षा १ देखि ३ सम्मका सात सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार