इलाम । सरकारी जागिरे भएपछि नेपाली युवा आफ्नो पुख्यौली कृषि पेशा चटक्कै छोड्छन् । तर जिल्ला हुलाक इलाममा कार्यरत ललिबुङ लामिछाने बिहान बेलुकाको समय सदुपयोग गरी कृषि फार्म संचालन गरि मनग्ये आम्दानी लिन थालेका छन् ।

इलाम नगरपालिका ८ निवासी ललिबुङ लामिछाने सरकारी जागिरे हुन् । कार्यालय समय बाहेक बिहान र साँझको समयमा उनी नर्सरी तथा फलफुल फार्ममा भेटिन्छन् । ३ वर्ष अघि स्थापना भएको कफि नर्सरी तथा फलफुल फार्मबाट लामिछानेले अहिले आम्दानी लिन थालेका छन् । फार्ममा कफि, केरा, कागति, अलैची र एबोकाडो रोपण भएको छ । फार्ममा अहिले केराखेतीबाट मनग्ये आम्दानी हुन थालेको हो । फार्मको केरा खेतीबाट गत वर्षदेखि आम्दानी दिन थालेको छ ।

३० रोपनी जग्गामध्ये १५ रोपनीमा ८ सय बोट केरा रोपण गरिएको छ । गत वर्ष ५ सय घरि केरा बिक्रि गरेका लामिछानेले अहिले ८ सय घरी केरा बिक्रि हुनेछ । फार्ममा उन्नत प्रजातीको विलियम जातको केरा खेती गरिएको छ । स्थानीय प्रजातीका केराको तुलनामा स्वाद मिठो हुने भएकाले बजारमा माग परि राम्रो रहेको छ ।

फार्ममा उत्पादन भएको केराको बजार इलाम सदरमुकाम हो । विलियक केरा प्रति दर्जन एक सय २० रुपैयाँमा बिक्रि हुने गरेको व्यवसायी देवी लामिछानेले बताइन् ।
फार्म स्थापना भएपछि गाउँमा रोजगारीका अवसर पनि थपिएका छन् । फार्ममा ३ जनाले प्रत्यक्ष रोजगारी पाएका हुन् । बगानमा मल लगाउने र सफा गर्ने समयमा सिजन अनुसार स्थानीय ३० जना बढी रोजगारी पाउन गरेका छन् ।

लेखा समुहमा स्थायी जागीरे लामिछानेको फार्म स्थापनाका गर्दा ५ लाख लगानी भएको छ । फार्ममा गत वर्ष केराको घरी बिक्रिबाट ४ लाख आम्दानी भएको छ । यस वर्ष बगानमा ८ सय घर केरा घर रहेकाले लगानी फिर्ता भएर मुनाफा हुने भएको छ । फार्ममा कफि खेतीबाट पनि यस वर्षदेखि आम्दानी दिने थालेको छ ।
