इलाम। इलामको रोङ –गाउँपालिका ५ का ७९ बर्षिय निरबहादुर सुनुवार एउटा समारोहमै रेडियो बजाएर नाचिरहेका थिए । बृद्धअवस्थमा अर्को खुशी थपिएको भन्दै पुलकित भएका सुनुवारले लामो समयपछि रेडियो सुन्न पाएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए ।
सुनुवार सुचना तथा देश बिदेशका खबर सहजै थाहा पाउनका लागि रेडियो उपलब्ध गराएको भन्दै हतार हतार गरेर घरतिर लागे। १० बर्षदेखि पुरानो रेडियो बिग्रिएर दुनियाँबाट बेखबर बनेका सुनुवारलाई रेडियो सुन्ने हतारो थियो । सुनुवारले अब रेडियोमा आउने बिभिन्न कार्यक्रम तथा समाचार सुनेर बसिबियाँलो गर्ने बताए ।
रोङ ५ कै हरिमाया लाबरको खुशीपनि सुनुवारको भन्दा कम थिएन । आँखा कमजोर भएकी ८७ बर्षिया बृद्धा लाबर रेडियो नसुनेको बर्षौ भयो रे । घरमा टेलिभिजन भएपनि आँखामा समस्या उत्पन्न भएदेखि हेर्न नपाएको उनले बताइन्। आफ्नी बुहारीलाई लिएर कार्यक्रमस्थल आएकी लाबरले एफएममा पुराना गित सुन्न रुची भएको बताइन ।
सुनुवार र लाबरजस्तै कार्यक्रम स्थलमा भेला भएका एकसयभन्दा बढी बृद्ध बृद्धाहरु सञ्चार उपकरण रेडियो पाएपछि खुशी देखिन्थे । अझ बृद्धाहरुले त रेडियोको साथमा साडी समेत पाएका थिए । सुचना तथा सञ्चारमा सम्पुर्ण नागरिकको सहज पहुच पुर्याउने उदेश्यले गाउपालिकाले रेडियो वितरण गर्न शुरु गरेको छ ।
वडा नम्बर ५ मा शनिबार १६० वटा रेडियो वितरण गरिएको गाउपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिए । उनले गाउँपालिकाभरीका सम्पुर्ण जेष्ठ सदस्यलाई रेडियो वितरण गरिने बताए। गाउँपालिकाले एक हजार १ सय रेडियो खरिद गरिएको उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिइन्। उनले ६ वटै वडाका जेष्ठ सदस्यलाई रेडियो वितरण गर्न शुरु गरेको बताइन्।
गाउँपालिकाले रेडियो वितरण कार्यक्रमलाई `चेतना वितरण’ भनेको छ । भौगोलिक रुपमा विकट रहेको सो रेडियोको माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाईएको छ । गाउँपालिकामा `युवाहरुले इन्टरनेटको माध्यमबाट सुचना लगायतका बिभिन्न जानकारी पाउने गरेका छन्´–अध्यक्ष स्याङवोले भन्ने–‘इन्टरनेट प्रयोग गर्न नसक्ने पुस्तालाई पनि सुचनामा पहुँच पुगोस भनेर हामीले रेडियो वितरण गरेका हौं, यति सानो कामले पनि धेरै आमाबाबुको अनुहारमा खुशी ल्याउन सकेकोमा हामी गौरव गर्दछौं ।’