इलाम । देउराली स्पोर्टिङ क्लब सन्दकपुर इलामले तेस्रो सिरिजङ्गा गोल्डकपको उपाधि जितेको छ । फाइनलमा गत संस्करणको उपविजेता न्युस्टार झापालाई २–० ले हराउँदै देउरालीले उपाधि जितेको हो । पहिलो हाफमा १ गोलको अग्रता बनाएको देउरालीले दोश्रो हाफमा थप १ गोल गर्न सफल रहयो । खेलमा देउरालीले अग्रता उपहार गोल मार्फत बनाएको थियो ।
२२ औ मिनेटमा कप्तान बिनोद धमलाको प्रहार झापाका अविशेक लिम्बुबाट डिफ्लेक्ट हुँदै जाली चुम्दा इलामले अग्रता बनाएको हो । दोश्रो हाफको ११ औ मिनेटमा पिकेश लोक्तामले फ्रिकिक मार्फत गोल गर्दै देउरालीको अग्रता २–० बनाए । त्यसपछिको खेलमा दुवै टोलीबाट स्कोर निस्किन सकेन् ।
सिरिजङ्गा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकप विजेता बनेसंगै देउरालीले नगद २ लाख २ हजार २२२ र ट्रफी प्राप्त गरेको छ । उपविजेता झापाले नगद १ लाख १ हजार १११ प्राप्त गरेको छ ।