माङसेबुङ । फाकफोकथुम इलामका दिनेश योङहाङले मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेको छ । इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलामका माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ नगरपालिका वारङगीका हरिचन्द्र लिम्बू र पान्थर मिक्लाजुङ गाउँपालिका सारङडाँडाका उपेन्द्र आङदेम्बे लिम्बूलाई पछि पार्दै योङहाङले ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेको हो ।
उपाधिसंगै योङहाङले नगद पुरस्कार ४० हजारको साथमा ट्रफी, एउटा गिटार र प्रमाण पत्र प्राप्त गरेका छन् । उप बिजेता बनेका तीन फाइनलिष्टहरुले नगद १० हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा आयोजना गरिएको मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उत्कृष्ट आठ (सेमिफाइनलिष्ट) को लाईभ प्रस्तुतिको आधारमा सोमबार उत्कृष्ट चार प्रतियोगी फिनालेका लागि छनोट गरिएको थियो ।
यसैगरी मंगलबार फिनालेमा उत्कृष्ट चार प्रतियोगीहरुले गरेको प्रस्तुतिको आधारमा निर्णायकहरुले विजेता छानेको थियो । माङसेबुङ इक्ला गायन प्रतियोगिताको टप चार फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु दिनेश योङहाङ फाकफोकथुम इलाम, शान्ता फियाक माई नगरपालिका इलाम, हरी चन्द्र लिम्बू लेटाङ मोरङ, उपेन्द्र आङदेम्बे मिक्लाजुङ साराङडाँडा पाँचथर रहेका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दीलमती चेम्जोङ, गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहेका थिए । प्रतियोगि सहभागीहरुलाई अनलाइन अडिसनबाट छनौट गरिएको थियो ।

योङहाङलाई गाउँमा भव्य स्वागत
मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधि दिनेश योङहाङ बुधबार जन्मघर फाकफोकथुम गाउँपालिका-७ इलाम पुगेका छन् । उपाधि जितेर जन्मगाउँ फाकफोकथुम पुगेका योङहाङलाई गाउँबासीले भव्य स्वागत गरेका छन् । मंगलबार भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै योङहाङ विजयी भएका थिए । उनले नगद ४० हजार, एउटा गिटार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले माङसेबुङ इक्ला आयोजना गरेको थियो ।