इलाम । हात्तिले पनि नोक्सान गर्न नसक्ने नेपियर घाँस इलाममा विस्तार हुने क्रम बढेको छ । १८ प्रतिसतसम्म प्रोेटिन हुने र १२ महिनानै उत्पादन दिन सक्ने भएपछि इलामका किसानमाझ नेपियर घाँस लोकप्रिय बनेको हो ।
नेपियर उखु जस्तो देखिने बहुवर्षिय घाँस हो । यसको उचाइ २ देखि ३ मिटर अग्लो, धेरै झाँङ हाल्न सक्ने हुन्छ । हात्तिले पनि नोक्सान गर्न नसक्ने भएकोले यसलाई हात्ती घाँस भनेर पनि चिनिन्छ । यो घाँस खेतवारीको कान्ला, डीलमा पनि लगाउन सकिने प्रोटिन प्रशस्त दिने भएकाले इलामका किसानले यो घाँस रोप्ने क्रम बढेको छ ।
१२ महिना नै उत्पादन दिने घाँस भएकाले नेपियर खेतीमा किसानको आकर्षण पनि बढेको छ । पशुहरुले नपियरको सबै भाग खाने र दूधालु पशुहरुको लागि उपयुक्त हुने भएकाले किसानले खेती गर्दै आएको सन्दकपुर १ का वडा अध्यक्ष रहर राईले बताए ।
चिम्टयाइलो माटो र सिमाहा जग्गा बाहेक जुन सुकै माटोमा पनि यो घाँस खेती हुन्छ । छिटो उत्पादन दिने घाँस भएकाले इलामका स्थानीय तहले किसानलाई वितरण गर्दै आएका छन् । नेपियर घाँस लगाएको २ महिना प्रथम पटक काट्न मिल्छ । त्यसपछि अर्को कटिङ्ग वर्षा याममा ५–६ हप्ता पछि र हिउदमा ८–१० हप्ताको फरकमा घाँस काट्न सकिन्छ ।
नेपियर घाँस प्रायः हरेक भू–भागमा पाइने भएकाले अत्यन्तै लोकप्रिय पनि रहेको छ । एकपटक लगाएपछि वषौँसम्म काट्न पाइने र तुलनात्मक रूपमा अरू घाँसको दाँजोमा उत्पादन पनि बढी हुने हुनाले घाँसको लोकप्रिय बढ्दै गएको पशु प्राविधिक सविन भट्टराईले बताए ।
किसानहरूले घाँस लगाउन छुट्टै जग्गाको बन्दोवस्त गर्नु नपर्ने भएकाले नेपियर लोकप्रिय बनेको हो । सिमित जग्गामा लगाएर पनि २–४ बोट बाटै डोकोभरी घाँस काट्न सकिने भएकाले नेपालको पहाड जिल्ला इलाममा नेपियर फैलिएको छ । इलाममा सुपर नेपियर, थिम नेपियर, रेड नेपियर, स्मार्ट नेपिएर किसानले खेती गर्दै आएका छन् ।