गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका(१ स्थित गजुरमुखी धाममा जारी प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ मा माङसेबुङ गाउँपालिका र देउमाई-९ जितपुर फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ रविलाई १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ उपाधिनजित पुगेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा महमाई एफसीविरुद्ध १-० गोलको संघर्षपूर्ण जित निकाल्दै देउमाई अन्तिम दुईमा उक्लिएको हो । उपाधिका लागि सोमबार दिउँसो हुने फाइनलमा माङसेबुङ र देउमाई आमनेसामने हुँदैछन् । गोल्डकपका विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजना ६ कात्तिकदेखि संचालित गोल्डकपमा १६ फुटबल टिमको सहभागिता थियो ।
गजुरमुखी धाममा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । आइतबार देखि मेला सुरु भएको छ । मेलाको अवसरमा गोल्डकप आयोजना गरिएको हो । मेलाको अवसरमा साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।
साँस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन ४ की फाइनलिस्ट सविना योङहाङसहितका कलाकारहरुको प्रस्तुती रहनेछ ।