इलाम : इलामको माङसेबुङ गाउँपालिकाले कृषि उपज उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन रकम बाँड्ने भएको छ । माङसेबुङ गाउँपालिकाको कृषि उत्पादन प्रोत्साहन सम्बन्धी कार्यविधि २०७९ ९पहिलो संसोधन २०८०० बमोजिम विभिन्न ६ प्रकारका कृषि उपजमा अनुदान प्रोत्साहन रकम बाँड्ने भएको हो ।
गतवर्षदेखि माङसेबुङले सुरु गरेको यो कार्यक्रम अन्तरगत दूध, दाल, केरा, स्कूस, माल बाँस र कफि उत्पादन गर्ने कृषकलाई अनुदान प्रोत्साहनको सोझै अनुदान दिने भएको हो । त्यसका लागि गाउँपालिकाले बिहीबार एक सूचना प्रकाशन गरी १५ दिनभित्र सम्बन्धित वडा कार्यालय निवेदन दिन आह्वान गरेको छ ।
गाउँपालिकाले बनाएको निश्चित मापदण्डका आधारमा कृषकले मुल्य अनुदान पाउनेछन् । गाउँपालिकाले दूध उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत दैनिक १५ लिटर वा सो भन्दा बढी दूध उत्पादन गर्ने कृषकलाई प्रतिलटर दुई रुपैयाँ अनुदान दिने भएको छ ।
त्यस्तै दाल उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत १५० केजी वा सो दाल उत्पादन गर्ने कृषकलाई प्रतिकेजी २० रुपैयाँ दिने भएको छ । त्यसैगरी केराखेती उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत ७० झ्याङ वा सो भन्दा बढी केरा रोप्ने कृषकलाई प्रतिझ्याङ एक सय रुपैयाँ दिने भएको छ ।
स्कूस उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत ३० झ्याङ वा सो भन्दा बढी स्कूस रोप्ने कृषकलाई प्रतिझ्याङ पाँच सय रुपैयाँ दिने भएको छ । माल बाँस उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत ३५ झ्याङ वा सो भन्दा बढी माल बाँस रोप्ने कृषकलाई प्रतिझ्याङ एक सय रुपैयाँ दिने भएको छ ।
कफि उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत ५० केजी वा सो भन्दा बढी बढी उत्पादन गर्ने कृषकलाई प्रतिकेजी २० रुपैयाँ दिने भएको छ । माङसेबुङको माथिल्लो क्षेत्रमा दूध उत्पादन र स्कूस उत्पादन बढी हुने गर्दछ । तल्लो क्षेत्रमा भने दूधसँगै दाल, केरा, बाँस उत्पादन हुने गर्दछ ।
मध्यम क्षेत्रमा कफि उत्पादन हुने गर्दछ । माङसेबुङले कृषि प्रोत्साहन कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ । पछिल्लो पुस्ताको युवाहरु वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता हटाउँदै व्यावसायिक कृषि उपज उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ माङसेबुङ गाउँपालिकाले गतवर्षदेखि सो कार्यक्रम सुरु गरेको थियो ।