सन्दकपुर । माईपोखरी त्रि– धार्मिक उत्सवको दोश्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा दोश्रो दिनको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बस्नेतले माईपोखरीको पर्यटन विकासमा आफ्नो तर्फबाट सहयोग हुने बताए ।
उनले इलाम नगर प्रमुख हुँदा माईपोखरीको विकासको लागि डिपिआरको कार्य भएकाले सो अनुसार विकासका लागि बजेट विनियोजनमा आफु प्रतिवद्ध रहेको बताए । त्रि धार्मिक महोत्सवले समाजलाई एक सुत्रमा बाध्ने कार्य भएको बताए ।
पुराणमा चम्पाकारणय क्षेत्रको रुपमा बर्णन गरिएको माईपोखरी क्षेत्र धार्मिक रुपमा मात्र नभएर जैविक विविधताको क्षेत्रमा समेत महत्वपुर्ण रहेको बताए । कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिकाका पुर्व अध्यक्ष उदय बहादुर राईले इलामको पर्यटन विकासमा सन्दकपुर र माईपोखरीको योगदान अतुलनिय रहेको बताए ।
उनले भाषणले मात्र सन्दकपुरको विकास नहुने भएकाले काम गर्नका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताए । केचना कञ्चनजंघालाई जोडेर इलामको विकासको ढोका खोल्नुपर्ने उनले बताए । गाउँपालिका अध्यक्ष रहँदा माईपोखरीलाई धार्मिक पर्यटनको रुपमा विकासका लागि डिपिआरको कार्य इलाम नगरपालिकासंग सहकार्यमा भएको उल्लेख गर्दै उनले सो अनुसार काम बढाउनुपर्ने बताए ।
नेकपा एमालेका सचिव उमेश गुरुङले माईपोखरीको विकासका लागि धार्मिक, राजनीतिक क्षेत्राबाट समेत कार्य भएको बताए । उनले त्रि धार्मिक महोत्सवले देश विदेशमा माईपोखरीको चर्चा परिचर्चामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले आफु व्यवसायिक पत्रकारिता रहँदा माईपोखरीको विकासका लागि योगदान गरेको स्मरण गर्दै राजनैतिक क्षेत्रबाट विकासका थप कार्यका लागि सदैव पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । दोश्रो दिन पण्डित कृष्ण प्रसाद घिमिरे, पण्डित विष्णु प्रसाद भट्टराई, पण्डित कृष्ण प्रसाद भट्टराई, लामा साङ्गे शेर्पा र लामा फुरी शेर्पाले प्रवचन दिएका थिए । आज साँझ पशुपति बागमती आरती र माईपोखरी गंगा आरती समेत हुनेछ ।