सन्दकपुर (माईपोखरी) रामसार क्षेत्रमा सुचिकृत इलामको सन्दकपुरमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सवको तयारी पुरा भएको छ । मंसिर १ बाट शुरु हुने धार्मिक पर्यटन उत्सव ८ गतेसम्म संचालन हुनेछ ।

किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले बताए । इलाम सदरमुकामबाट १८ किलोमिटर दूरीमा रहेको माईपोखरी धार्मिक र पर्यटकीय क्षेत्रमा महोत्सवका लागि पर्यटकहरु आउने क्रम पनि शुरु भएको छ । आयोजक समितिका उपाध्यक्ष गृष्म सुब्बाका अनुसार क्रिधार्मिक पर्यटन उत्सवको बन्दोबस्तिको काम पुरा भएको छ ।

तयारी पुरा भएसँगै भक्तजनहरु पनि आउन थालेको उनले बताए । धार्मिक पर्यटन उत्सवमा ९ दिन नै बसेर पोखरीमा ध्यान गर्ने, पुजा गर्ने भक्तजनहरु र धर्मगुरुहरु आउने क्रम बढेको उनले बताए । आयोजक समितिका सचिव दिनेश सुवेदीले त्रिधार्मिक उत्सवको सुरक्षा, प्रसाद ग्रहण, पार्किङस्थल लगायतको सबै भक्तजनहरुलाई कथा श्रवणका लागि आवश्यक बस्दोबस्तीको काम पुरा भएको बताए । पर्यटन प्रवद्र्धन र माईपोखरीको महत्व विश्वभर फैलाउने उदेश्यले आयोजना गरिएकाले प्रचारप्रसार पनि तिब्र रुपमा हुँदै आएको प्रचार समितिका संयोजक श्याम राईले बताए ।

संचारमाध्यम, सामाजिक सञ्जाल, पत्र मार्फत नेपाल, भारत र भुटानसम्म प्रचारप्रासारको काम गरिएको प्रचार संयोजक राईले बताए । १० लाख पर्यटक र भक्तजन भित्र्याउने लक्ष्य राखिएको त्रिधार्मिक पर्यटन उत्सवमा लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

उनले भने–‘माईपोखरीको माध्यमबाट सन्दकपुरको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौ, सन्दकपुर पर्यटकीय गाउँपालिका भएकाले हामी पर्यटन प्रवद्र्धनका प्रचारात्मक गतिविधि नियमित रुपमा गर्नेछौँ । महोत्सवको सफल बनाउन सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादूर लुङ्गेली,वडाअध्यक्षहरु रहरकुमार राई, सनम राई, ढाल बहादूर गुरुङ्ग लिल बहादूर बर्जा, यज्ञ गुरुङ्ग सहित ५ वटै वडा जनप्रतिनिधिहरु सक्रिय भएका लागेका छन् ।

त्रिधार्मिक महोत्सवले पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले बताए । क्रिधार्मिक पर्यटन उत्सव सफल बनाउन सहयोग संकलनको अभियान थालिएको छ । आयोजक समितिले प्रतिव्यती सय रुपैयाँ सहयोग संकलन गर्ने अभियान चलाएको हो । अहिले सहयोग संकलन अभियानमा देशविदेशमा रहेका नेपाली नागरिकबाट हुँदै आएको आर्थिक समिति संयोजक नेत्र रिजालले बताए ।
महोत्सवमा आउने पर्यटक र भक्तजनहरुले माईपोखरीको भ्रमण गरेर आनन्द लिनेछन् । ९ कुनामा फैलिएको माईपोखरीको प्राकृतिक सुन्दरतामा पर्यटकहरु घण्टौसम्म घुम्न सक्नेछन् । माईपोखरीमा जैविक, धार्मिक, सास्कृतिक, लोपउन्मुख वन्यजन्तु, चराचुरुङ्गी, जडिबुटी, लोपउन्मुख गलैचे झ्याउ, सरीश्रपहरुको अध्ययन अवलोकन गर्न सकिन्छ ।
