इलाम । ‘आत्मानन्द कप २०८०’ फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा माङसेबुङ गाउँपालिका र विवाइसी भुटान भिड्ने भएका छन् । आत्म–पवित्र हक्चात यक्चुम महान सेवा समितिले सार्वजनिक गरेको ड्र अनुसार मंसिर ८ देखि प्रतियोगिता संचालन हुँदैछ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सव को अवसरमा माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुनेछ । प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरु सहभागी छन् ।
माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, गोलबजार स्पोर्टिङ क्लब सिराहा, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागी छन् ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।