सुर्योदय । इलामको सूर्योदय नगरपालिका ९ का युवा विद्यार्थी किरण भण्डारीले डेरी उद्योग स्थापना गरि गाउँमै रोजगारीका अवसर दिएका छन् । नेपाली युवाले रोजगारको गन्तव्य विदेश रोजेका बेला गाईपालनबाट उत्पादन हुने दूध प्रशोधन गर्ने उद्योग स्थापनाले ग्रामीण क्षेत्रको अर्थतन्त्रको आधार बनेको छ ।

किरण भण्डारी स्नातक तहमा अध्ययन गर्ने युवा विद्यार्थी हुन् । सूर्योदय नगरपालिका ९ निवासी भण्डारी अध्ययनसँगै दूग्ध व्यवसायमा जमेका छन् । भण्डारीको हलेसी डेरी उद्योगमा किसानले उत्पादन गरेको ५ हजार लिटर दूध प्रशोधन हुन्छ । दूध प्रशोधन गर्ने भण्डारीको हलेसी डेरी उद्योग गाउँको अर्थतन्त्रको आधार भएको छ । डेरी उद्योगमा गाउँकै युवा युवतीले रोजगारी पाएका छन् । उद्योगमा अहिले ७ जनाले रोजगारी पाएका हुन् ।

डेरी उद्योगमा घ्यु र छुर्पी उत्पादन हुन्छ । किसानको दूध संकलनका लागि उद्योगका १८ वटा संकलन केन्द्र छन् । कतिपय किसानले उद्योगमा आफै दूध ढुवानी गर्दै ल्याउने गरेका छन् ।

हलेसी डेरी उद्योग २०७६ सालमा स्थापना भएको हो । उद्योगमा दैनिक १ सय ९० किलो घ्यु र २ सय ७० किलोसम्म छुर्पी उत्पादन हुन्छ । उद्योगमा उत्पादन भएको घ्यू नेपाली बजारमा बिक्रि हुन्छ भने छुर्पी युरोप निर्यात हुँदै आएको हो ।

भण्डारीको डेरी उद्योगको प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले अनुदान सहयोग गरेको छ । कोशी प्रदेश सरकारको अनुदान सहयोगबाट दूध तताउने स्टिम बोइलर र क्रिम सेप्रेटर उद्योगमा जडान भएको छ । जसका कारण उद्योगमा दूध प्रशोधनका लागि सहयोग पुगेको उद्यमी किरण भण्डारीले बताए ।

हजारौ युवाले रोजगारीको गन्तव्य विदेश रोजेका बेला भण्डारीले डेरी उद्योग स्थापना गरि रोजगारीसँगै अर्थतन्त्र विकासका लागि गरेको काम उदाहरणिय बनेको छ ।