सन्दकपुर । इलामको सन्दकपुर–५ जमुनामा जारी कागे फुटबल प्रतियोगितामा आज सेमीफाइनलका खेलहरु हुँदैछन् । विहिबार सन्दकपुर खेल संघ र टारी एफसी बिजयी भएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो ।
पहिलो सेमीफाइनल खेलमा ढापपोखरी एफसी र सन्दकपुर खेल संघ तथा दोश्रो सेमीफाइनलमा इलाम एफसी र टारी एफसी भिड्दैछन् । विहिबारको पहिलो खेलमा सन्दकपुर खेल संघले जमुना एफसीलाई ३–१ ले हराएको थियो । दोश्रो खेलमा उपाधिको दाबेदार मानिएको मोनलेण्ड एफसी केर्खा झापालाई २–१ गोल अन्तरले हराउँदै टारी एफसीले सेमीफाइनलमा स्थान बनाएको हो ।
गजाधर धनमाया रंगशालामा संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार १ सय र उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ ।यस संस्करणमा २० टिमको सहभागिता रहेको छ ।