सुर्योदय । तरकारी खेतीका लागि प्रत्यक्ष सिप र तालिम लिएपनि धेरै किसानले आफ्नो सीपको प्रयोग गरेका छैनन् । तर इलामको सूर्योदय नगरपालिका १० का किसान अरुण थापाले सामाजिक संञ्जालको सहयोगमा तरकारी खेतीको सीप सिकेर नगरकै उत्कृष्ट कृषक भएका छन् ।

सूर्योदय नगरपालिका १० का अरुण थापाले व्यवसायीक रुपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्छन् । २०७७ सालमा फर्म दर्ता गरि थापाले टमाटर खेतीबाट आफ्नो व्यवसाय शुरु गरेका थिए ।

फिक्कल बजारबाट ३ किलोमिटर टाढा रहेको गाउँ याङमा खेती गर्दै आएका थापाको फार्ममा उत्पादन भएको तरकारीको बजार समस्या छैन । नमुना थापा कृषि फर्ममा टमाटर, फुलकोपी, बन्दाकोपी, साग, धनीया लगायतका तरकारी उत्पादन हुन्छ । फार्ममा मौसमी र बेमौसमी तरकारी खेती हुन्छ । प्लाष्टिक टनेलमा खेती हुने भएकाले १२ महिनामै फार्ममा तरकारी उत्पादन हुने संचालक अरुण थापाले बताए ।

फार्ममा थापाकी श्रमति र छोरा खट्दै आएको छन् । घरखर्च चलाएर बार्षिक तरकारी बिक्रिबाट ७ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ । व्यवसायीक तरकारी खेतीको तालिम प्रत्यक्ष नलिएका थापाले सामाजिक संजालको प्रयोगबाट तरकारी खेतीबारे सीप लिँदै आएका छन् । बिषादीको प्रयोग नगरि तरकारी खेती हुने भएकाले स्थानीय बजारको माग फार्मको उत्पादनले पुरा गर्न सकेको छैन ।

खुल्ला आकासमा खेती गरिँदै आएपनि अहिले १७ वटा टनेल लगाई तरकारी खेती हुँदै आएको छ । फार्मको सबैभन्दा राम्रो आम्दानी टमाटरबाट हुने गरेको छ । एक टमाटरको बोटबाट १५ किलोसम्म उत्पादन हुने गरेको हो ।

परिश्रम र महेनतको कदर गरि सूर्योदय नगरपालिका र नगर क्षेत्रका राजनीतिक दलहरुले फार्म संचालक अरुण थापालाई नगरको उत्कृष्ट कृषकमा पुरस्कृत र सम्मान गरेका छन् ।