सन्दकपुर । ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा इलामको शीर सन्दकपुरमा पर्यटन व्यवसायी र पर्यटकहरुसँग अन्तरक्रिया गरिएको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सनम राईको नेतृत्वमा पुगेको गाउँपालिकाको टोलीले विश्व पर्यटन दिवसको अवसरमा पर्यटक र व्यवसायीसँग अन्तरक्रिया गरेको हो ।

कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडामा होटल व्यवसायी र सन्दकपुर भ्रमणमा आइपुगेका विभिन्न देशका पर्यटकहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाअध्यक्ष राईले सन्दकपुर डाँडा विश्वभरका पर्यटकहरुको आकर्षक गन्तव्य भएकाले यहाँ आउने पर्यटकहरुलाई सन्दकपुर भित्रका अन्य पर्यटकीय क्षेत्रमा पुर्याउन पर्यटन व्यवसायीले सहयोग गर्नुपर्ने बताए ।

सन्दकपुर आइपुगेका पर्यटकहरुलाई सन्दकपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय क्षेत्रहरुमा पुग्ने वातावरण निर्माण गरेमा रोजगारका अवसरहरु सिर्जना हुने र अर्थतन्त्रको विकासमा सहयोग पुग्ने उनले बताए । ३६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर डाँडामा होटल व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुले पूर्वाधार निर्माणमा गाउँपालिका र सरकारहरुले ध्यान दिनुपर्ने बताएका थिए । सेर्पा च्यालेट होटल संचालीका पसी सेर्पाले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणको काम प्राथमिकता दिनुपर्ने बताइन् । उनले भनिन्–‘ विश्वभरका पर्यटकहरु आइपुग्ने सन्दकपुर आवातजावत गर्ने सडकको अवस्था राम्रो भएमा पर्यटकहरु नेपाली बाटो भएर सयौँको संख्यामा आउनेछन् ।’

सन्दकपुर डाँडामा रहेको सनराइज होटलका संचालक छिरिङ सान्डुप सेर्पाले पर्यटकको माध्यमबाट आर्थिक अवस्था सुर्धान सकिने भएकाले टे«किङ गाइड, हस्पिटालिटि लगायतका तालिमहरु संचालन गर्नुपर्ने बताए । पर्यटकहरुका लागि शुरु गरेको पूर्वाधारहरु पुरा गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा सहभागि पर्यटकहरुले सडक, फोहोरमैला व्यवस्थापन, सुचनाको श्रोतहरुको व्यवस्थापन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका सल्लाहाकार सुजन तिमसिनाले इलामको शीर सन्दकपुर डाँडाको पर्यटन प्रवद्र्धन भएमा इलाम मात्रै नभएर झापाको अर्थतन्त्र विकासमा पनि सहयोगी बन्ने बताए । अन्तरक्रियामा पर्यटक र पर्यटन व्यवसायीहरुलाई सन्दकपुर गाउँपालिकाको पर्यटकीय गन्तव्यहरुको फोटो बुक र ब्रोसरहरु हस्तान्तरण गरिएको थियो ।
