फिक्कल । संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले रोड रेस सम्पन्न गरेको छ । नगरले हरेक बर्ष झै यस बर्ष पर्यटकीय क्षेत्र कन्यामबाट नगरको केन्द्र फिक्कल सम्म ५ किलोमिटर रेस सम्पन्न गरेको हो ।
प्रतियोगितामा महिला तर्फ खुल्ला र पुरुष तर्फ ३५ बर्ष मुनी देखि ३५ बर्ष माथिको उमेर समुह का विभाजन गरेर सहभागिता जनाइएको थियो । ३५ बर्ष मुनि पुरुष तर्फ झापाका समिर कन्दङवाले १६ मिनेट ५८ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेका छन् । १८ मिनेट ६ सेकेन्डमा दमकका सरोज सिंह र १८ मिनेट ३० सेकेन्डमा पाँचथरका विशाल राईले दौड पुरा गरे ।

३५ बर्षमाथिको पुरुष तर्फ नेपाली सेनामा कार्यरत दाङका प्रेम बहादुर बस्नेतले २० मिनेटमा निर्धारित दुरी पार गरे । मोरङका सञ्जयकुमार राईले २३ मिनेट र सूर्योदय नगरपालिकाका नगर प्रहरी सन्जिव कार्कीले २५ मिनेटमा दुरी पार गरे । महिला तर्फ सूर्योदयकी मनमित लेप्चाले २६ मिनेटमा निर्धारित ५ किलोमिटर पार गरिन् ।

माई नगरपालिकाकी अनिशा शंकरले २७ मिनेट र सूर्योदयकी चादनी राईले २८ मिनेटमा दुरी पार गरिन् । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश १० हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । नगर खेलकुद विकास समिति संयोजक सौरभ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

कार्यपालिका सदस्यहरू वडाध्यक्षहरु, जिल्ला खेलकुद विकास समिति इलाम अध्यक्ष खगेन्द्र बास्तोला, जिल्ला खेलकुद विकास समिति इलाम कार्यालय प्रमुख नारायण भट्टराई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले स्वागत मन्तव्य राखेका थिए । शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक नविन पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

दौडको मुख्य निर्णायक वरिष्ठ एथलेटिक्स प्रशिक्षक तथा निर्णायक रोहित भट्टराई रहेका थिए । निर्णायक मण्डल का सदस्यहरूले स्टार्टिङ लाइन देखि फिनिसिङ लाइन सम्म नै प्रथम दोश्रो र तेश्रो लाई बाइक मार्फत फलो गर्दै विचबाट छिर्न खोज्ने हरुलाई डिसक्वालिफाई गरी फेयर रूपमा प्रतियोगिता सम्पन्न गरेको अध्यक्ष सौरभ आचार्यले जानकारी दिए ।