पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरी क्षेत्रमा जैविक विविधता संरक्षणका र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणले प्राथमिकता पाएको छ । माइपोखरी सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत भएपछि माईपोखरी क्षेत्रको पहिचान विश्वव्यापि भएको थियो ।

रामसार क्षेत्रमा सुचिकृत भएपछि ५ वर्षे गुरुयोजना बनाइ माईपोखरीमा पूर्वाधार निर्माणको काम हुँदै आएको छ । संघीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरेपछि अहिले रामसार क्षेत्रको संरक्षण र पर्यटन पूर्वाधार निर्माणको योजना हुँदै आएका छन् । पूर्वाधार निर्माण गरि जल सतहको संरक्षणका लागि अहिले माईपोखरी क्षेत्रको जोरपोखरीमा ड्याम निर्माण गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

सदरमुकाम इलाम बजारबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्रमा अहिले पर्यटकहरुको आकर्षण केन्द्र बनाउने गाउँपालिकाको योजना छ । जसका लागि पूर्वाधार निर्माण र जैविक विविधताको संरक्षणको काम हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
सन्दकपुर गाउँपालिकाले माईपोखरीलाई आकर्षक गन्तव्य बनाउन डिपिआर तयार गरि पूर्वाधार निर्माण गर्दै आएको हो । डिपिआरको आधारमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट प्राप्त बजेटले जोरपोखरी निर्माण सकिएको छ । बहुवर्षे योजनामा स्वीकृत भएपछि संघीय सरकारले माईपोखरी क्षेत्रको जोरपोखरी पर्यटकीय पूर्वाधार विकासका काम धमाधम भइरहेको इञ्जिनियर राजकुमार यादवले बताए ।

धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात रहेका माईपोखरीमा स–सना पोखरीको मुहान र लोपउन्मुख वन्यजन्तु ठकठकेको संरक्षण गरिँदै आएको छ । पोखरीको जलासय क्षेत्र वरिपरि रहेका २ वटा स–सना पोखरीहरुको संरक्षण गर्ने, आकासे पुल निर्माण गर्ने, कफि सप, सार्वजनीक शौचालय,रेलिङ्ग र दुई पोखरीको बिचमा झोलुङ्गे पुल सहितको पदमार्ग बनाउने योजना रहेको उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।

माईपोखरी जोरपोखरी पर्यटकीय पूर्वाधार निर्माणको काम २०७७÷०७८ बाट शुरु भएको थियो । कुल लागत ५ करोड २७ लाख ५२ हजार रहेकोमा ४ करोड १० लाख ७० हजारमा ठेक्का संझौता भएको थियो । सो ठेक्काबाट अहिले जोर पोखरी निर्माणका लागि आरसिसि म्याट बाँध निर्माणको काम सम्पन्न भएको छ ।

पर्यटन पूर्वाधार अन्तरगत अहिले ड्याम निर्माण, टिकट काउन्टर र चमेना गृह निर्माणको काम अन्तिम चरणमा पुगेको हो । माईपोखरी क्षेत्रको पर्यटन पूर्वाधार निर्माणले पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने सन्दकपुर गाउँपालिका निर्वतमान अध्यक्ष उदय राईले बताए । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।


