काठमाडौं : एशिया कप क्रिकेटमा वर्षाले रोकिएको खेल पुनः शुरु भएपछि नेपालले ४४ ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएको छ। २७ रन बनाएर सोमपाल कामी र ४ रन बनाएर सन्दीप लामिछाने क्रिजमा छन्। ३७ ओभर ५ बलमा ६ विकेट गुमाएर नेपालले १७८ रन बनाएका बेला पानी परेपछि खेल रोकिएको थियो।
खेल रोकिएको ४५ मिनेटपछि पुनः सुरु भएको हो। ४५ मिनेट ढिला भएपनि ओभर भने घटाइएको छैन। पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ६५ रनको साझेदारी गरे।
भारतविरुद्ध नेपालका लागि अहिलेसम्म शेखले सर्वाधिक ५८ रन बनाए। ९७ बल खेलेका उनले ८ चौका प्रहार गरे। भुर्तेलले २५ बल खेल्दै ३ चौकाको मद्दतमा ३८ रन जोडे। गुल्सन झा २३ रन बनाएर आउट भए। भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए।
भारतका लागि रविन्द्र जडेजाले ३, मोहम्मद सिराजले २ र शार्दुल ठाकुरले १ विकेट लिएका छन्। वर्षाका कारण खेल अघि बढ्न सकेन भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। यसअघि पाकिस्तानसँग पराजित भएका कारण नेपाल अंकविहीन छ। पाकिस्तानसँग अंक बाँडेको भारतले १ अंक जोडेको छ।