Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भव्यताका साथ मनाइयो परम्परागत रोपाई जात्रा (तस्बिरहरु)

भव्यताका साथ मनाइयो परम्परागत रोपाई जात्रा (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • आइतबार, भाद्र १७ २०८०


भव्यताका साथ मनाइयो परम्परागत रोपाई जात्रा (तस्बिरहरु)

इलाम। परम्परागत रुपमा निकालिदै आएको रोपाई जात्रा आइतबार इलाममा भव्यताका साथ निकालिएको छ । रोपाई जात्राको कारण बजारमा बिहानैदेखि चहलपहल बढेको थियो । इलाममा नेवारको बसोबाससँगै थालिएको यो चलन हेर्न इलाम जिल्ला र बाहिरबाट पनि इलामा बजारमा धेरै मानिसहरु सहभागी भएका थिए ।

पञ्चेबाजाको मधुर धुनको तालमा सुरिलो स्वरको गीत घन्काएर नेपाल भाषा तथा संस्कृति समाजले यसपल्ट मनाएको रोपाईजात्रामा सैयौं मानिसहरु इलाम सदरमुकाम आएका थिए । अघि–अघि गोरु, हली र बाउसे अनि पछि–पछि रोपाहारले धान रोपेझैं रोपाईको झल्को दिने रोपाई जात्रामा दुई सय भन्दा बढीले रोपाईको अभिनय गरेका थिए । मानिसको भीड देखेर स्थानीय सन्दिप प्रधानले भने– ‘बजारमा मानिस खचाखच भरिभराउ भएकोले अझै पनि पूराना संस्कृतिलाई मन पराउनेहरु थुप्रै रहेछन् भन्ने लाग्यो ।’


परम्परागत रुपमा युवकहरु युवतीको भेषमा रोपाइँ गर्ने चलन भएपनि एक दशक यता युवक युवतीहरु समान रुपमा रोपाईमा सहभागी हुँदै आएका छन् । विगतका वर्षहरुमा लिम्बु समूदायका युवाहरु रातभर धान नाच्ने चलन भएपनि द्वन्द्वकाल यता सो चलन पनि मासिएको छ ।

जमिन्दारले बेठी लगाएर पञ्चेबाजाको धुनमा रोपाईं गर्ने पूरानो चलनको सिको गरी राणाकालदेखि सदरमुकाममा रोपाई जात्रा मनाउन थालिएको इतिहास छ । खेतमा छमछम रोपाई गरेजस्तै यो जात्रामा पनि सारी चोलोमा सजिएका महिलाको भेषमा पुरुषले धान रोपेको अभिनय नियाल्न मानिसहरु धुइरिने गर्छन् ।

इलामका साँकृतिकविद् युद्धप्रसाद वैद्य भन्छन्– ‘झण्डै २०० वर्ष पूरानो इलामको मौलिक संस्कृति रोपाई जात्रालाई युवक–युवतीका लागि हाँसखेल गर्दै रमाइलो गर्ने बाजा गाजाका साथ इलाममा निकालिने गरिएको हो । अघि–अघि पञ्चेबाजा, पछि–पछि हली, रोपाहार र बाउसेले खेतमा रोपाई गरेको जीवन्त अभिनय हुने रोपाईजात्रा ताप्लेजुङ, पाँचथर, संखुवासभामा पनि मनाइन्छ ।

रोपाईजात्रामा सहभागी एकसय ८० हाराहारी कलाकारले दिनभरमा धेरै रकम पनि संकलन गर्न भ्याए । आयोजकका अनुसार संकलित रकम धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदा संरक्षणमा खर्च गरिनेछ । हातमा धानको बिउ बोकेर, बेठी बाजाको तालमा नाच्दै मालापथ, इलाम चोक, नविन चोक, चियाबारी, बसपार्क हुँदै टुँडिखेलसम्म र त्यहाँ देखि पुनः फर्काएर प्रकाशपथ हुँदै नारायणस्थानसम्म झाँकी घुमाइएको थियो ।

नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा निकालिदै आएको यो जात्रा नेवार समूदायमा मात्र सीमित हुन छोडेको छ, साथै अन्य समुदायका मानिसहरुले जात्रालाई अपनत्व जनाउदै आएका छन् । रमाइलो सँगै टाढाका आफ्ना साथीसँग भेटघट हुने र रातभरी नाचगान गरी आनन्द लिन पाइने भएकाले धेरै यो पर्वमा सहभागी हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार