सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा आन्तरिक राजश्व वृद्धि र करको दरका बिषयमा वृहत अन्तरक्रिया सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिका अधयक्ष तुलाराम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका भित्रका सक्रिय रहेका राजनीतिक दल, व्यवसायी र वृद्धिजिविहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले देशको अर्थतन्त्र विकासका लागि व्यवसाय संचालन र कर संकलन एक अर्कामा परिपुरक रहेकाले सन्दकपुरको विकासका लागि कर संकलनको निति र व्यवसाय संचालनमा गाउँपालिकाले बनाउनुपर्ने कानुनका बारेमा सुझाव लिन पालिकाबासीलाई बोलाइएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत महेश राईले गाउँपालिकाको विकासका लागि आन्तरिक श्रोत पनि बलियो हुनुपर्ने बताए । उनले भने– हाम्रो आन्तरिक श्रोत जति धेरै हुन्छ, त्यति नै बढी योजनाहरु कार्यान्वयन हुन्छन् र प्रदेश, संघ सरकारले बजेट पनि वृद्धि गर्ने भएकाले कर संकलनमा पालिकाबासीले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा सुझाव दिने व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले गाउँपालिकाले करको दर भन्दापनि दायरा वृद्धि गर्नुपर्ने र करको चुवाहट रोक्नका लागि बिषेश ध्यान दिने आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताले गाउँपालिकाले व्यवसाय प्रवद्र्धन र कर संकलनमा चनाखो भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा वुद्धिजिवि नेत्र पराजुली, रिञ्जिफुर्वा सेर्पा, चन्द्र राई, राजबहादूर राई, नेपाल काग्रेसका जिल्ला सचिव देबेन्द्र सुवेदी, पालिकाका नेता हरिकृष्ण खतिवडा, राप्रपाकी नेतृ पुण्यप्रभा भट्टराई, नेकपा माओवादी केन्द्रका प्रेम नाछिरिङ्ग, महिला नेतृ तुलसा खवास लगायत सुझाव दिएका थिए । कार्यक्रममा सन्दकपुर २ का वडाध्यक्ष सनम राईले सन्दकपुरको विकासका लागि सरकार, व्यवसायी र जनता एक भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले सरकार एक्लै हिडेर गन्तव्यमा पुग्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा सन्दकपुर ३ का वडाध्यक्ष लिल बहादूर बुर्जाले पर्यटन, कृषि र पशुपालन सन्दकपुरको अर्थतन्त्रको आधार भएकाले यी क्षेत्रमा गाउँपालिकाले पनि लगानी बढाउने निति लिएको बताए । उनले कृषि पशुपालनमा आधारित पर्यटन प्रवद्र्धनमा लाग्न सन्दकपुरबासीलाई आग्रह गरे ।