नयाँबजार । माईजोगमाई गाउँपालिकाको प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । प्रदेश सांसद खिनु लङ्वाको प्रस्तावमा नयाँबजारमा निर्माण सम्पन्न भवनको आज एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले उद्धघाटन गरेका हुन् ।
२०७६ सालमा निर्माण सुरू भएको भवन गत बर्ष निर्माण सम्पन्न भएको थियो । भवन आशिर्वाद निर्माण सेवा उदयपुरले २ करोड २५ लाखमा सम्झौता गरि निर्माण गरेको हो । २९ मिटर लम्बाई र २१.३ मिटर चौडाई भएको भवनमा ८ कोठा र महिला तथा पुरूष शौचालय रहेको छ ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले फिक्कल-गुप्ती-नयाँबजार सडक कालोपत्रे भएपछि पर्यटकहरूलाई माईजोगमाई ल्याउन सहज भएको बताए । उनले फिक्कल गुप्ती नयाँबजार हुँदै जौवारी कालपोखरी सम्मको जोड्ने सडकले माईजोगमाईको आर्थिक स्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मेची राजमार्गलाई सिमल गोलाई बाट माईबेनी हुँदै तिल्केनी जोड्नका साथै माईजोगमाई गाउँपलिकालाई राजमार्गसंग जोड्ने कार्यका लागि पहल भइरहेको उनले बताए । इलाम पर्यटकीय जिल्ला भएपनि पर्यटन सम्बन्धी कार्यहरु सोचे अनुरुप हुन नसकेको उनले बताए ।
कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले गाउँपालिकमा भएको आगलागिको कारण पुष्टि नभएकाले आधिकारिक धारणा बाहिर ल्याउन केही समय लाग्ने बताए । उनले सबै पक्षको सहयोग भए मात्र पालिकाको समृद्धि सम्भव हुने बताए । उनले गाउँपालिकाको प्रर्वद्धनात्मक कार्य गर्ने अवधारणा भएपनि आवश्यक बजेटको अभाव रहेको बताए ।
कार्यक्रममा उपाध्यक्ष प्रविना राईले स्वागत मन्तव्य राखेकी थिइन् । पालिकाको भवन बारेमा निमित प्रमुख प्रशासकिय अधिकृत प्रकाश चौधरीले प्रष्ट पारेका थिए । कार्यक्रममा नेकपा एमाले तथा नेपाली कांग्रेसका प्रतिनिधिले समेत मन्तव्य राखेका थिए ।
कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष जित बहादुर राईले समेत भवन उद्घाटन भएकोमा खुसी ब्यक्त गरे ।