सिक्किम : इलामका जनप्रतिनिधिहरुले सिक्किमका पर्यटकहरुलाई घुम्न आउन निम्ता गरेका छन् । इलामको फाकफोकथुम गाउँपालिकाबाट निर्वाचित पालिका अध्यक्ष सहित वडा अध्यक्ष, पालिकाका कर्मचारी र स्थानीय नागरिकहरुले सिक्किमस्थित सोरेङ जिल्लामा पर्ने गेलिङ सहरमा गुरु ज्ञानदिल धाम मन्दिर प्रवन्धन समितिद्वारा आयोजित अन्तरकृया कार्यक्रम मार्फत सिक्किमवासीहरुलाई इलामको फाकफोकथुम घुम्न आउन निम्ता गरेका हुन् ।
कार्यक्रमका सहभागीले प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको सिक्किमको गेलिङ र इलामको फाकफोकथुम जोड्न पहल समेत सुरु गरेका छन । सहभागीले दुबै स्थानको प्रबर्द्धन गर्न सक्रिय भुमिका गर्न दुबै स्थानका सरोकारवालाहरुले प्रतिबद्धता समेत गरेका छन् ।
सन्त गुरु ज्ञानदिल दासको जन्म भुमी इलामको फाकफोकथुम गाउपालिकामा पर्ने आमचोक र समाधिस्थल रहेको सिक्किमको गेलिङसंग समन्ध जोड्न यो कार्यक्रमको आयोजना गरिएको गुरु ज्ञानदिल धाम मन्दिर प्रवन्धन समितिका अध्यक्ष गोबिन्द शर्माले जानकारी दिए ।

सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिपि शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका भारतका विभिन्न भुभाग बाट प्राध्यापक डाक्टरहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सल्लाहकार शर्माले ज्ञानदिल दासको जन्म र मृत्यु भएको स्थानको हालसम्म पनि प्रचारप्रसार हुन नसकिरहेको अवस्थामा यस स्थानलाई विश्व सामु परिचित बनाउन आवस्यक रहेको बताए ।
उनले यसका लागि आज बाट नै पहल सुरु गरिने समेत बताए । इलाममा भारतीय पर्यटकहरु आइरहेको सन्दर्भमा सिक्किमका पर्यटकहरुलाई इलामको फाकफोकथुम भ्रमणमा प्रोत्साहित गरिने पालिका प्रमुख दिपेन्द्र खनालले बताए । खनालले गुरु ज्ञानदिल दासका नामले दुई स्थानलाई जोड्न गेलिङमा आयोजना भएको कार्यक्रमले सार्थकता पाउनेमा बिश्वास ब्यक्त गरे ।

यता फाकफोकथुम गाउँपालिका वडा न तिनका वडा अध्यक्ष दिपेन्द्र लिम्बुले फाकफोकथुममा पनि थुप्रै धार्मिक एबम पर्यटकिय क्षेत्र रहेकाले सिक्किमवासीलाई एक पटक घुम्न प्रेरित गर्न जनप्रतिनिधिहरुको नेतृत्वले सिक्किम भ्रमणको कार्यक्रम बनाएको बताए ।
उनले सिक्किमका नागरिकलाई एकपटक फाकफोकथुम घुम्न निम्तो समेत गरेका छन । यता कार्यक्रमका सहभागीहरुले पर्यटन विकास गर्न पर्यटकीय पूर्वाधारको सुधार तथा प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने सुझाव दिएका छन ।