इलाम । यस वर्ष लामो समय खडैरी चलेकोले अलैंची उत्पादनमा ह्रास आउने भएको छ । माघदेखि जेठसम्म चलेको खडेरीले धेरै किसानको अलैंची बगान नै सखाप भएपछि उत्पादनमा ह्रास आउने किसानहरु बताउँछन् ।उत्तरी इलामको माईजोगमाई गाउँपालिकाको प्याङ, सोयाङ र जोगमाईमा अलैंची उत्पादनमा झण्डै ९० प्रतिशत ह्रास आउन सक्ने भन्दै किसानहरु चिन्तित भएका छन् ।
लामो समयसम्म खडेरी चल्नु र सोही समयमा लागेका विभिन्न रोगका कारण प्राय जिल्लाभरी अलैंची उत्पादनमा कमी आएको छ । समुद्री सतहको ११ सयदेखि १६ सय मिटर उचाईसम्म राम्रोसँग अलैंची खेती हुने गर्दछ ।
केही समय अगाडि अलैंचीको बजार भाउ राम्रो हुँदा प्राय सबै किसानले अन्य सबै खेती मासेर अलैंची खेती विस्तार गरेका थिए । तर अलैंचीको बोटमा विभिन्न रोगको प्रकोप देखा पर्नु र लामो समयसम्म लागेको खडरीले किसानको बगान नै सखाप हुन थालेपछि किसानहरु निरास हुँदै अन्य खेतीको विकल्प खोज्न थालेका छन् ।
१५ वर्ष पहिले हजारौं रोपनीमा भएको पुरानो अलैंची बगान फुर्के रोगले सखाप पारेपछि किसानहरुले सबै जंगल फडानी गरी खुला पारेको जमिनमा भर्लाङ जातको अलैंची रोपेका थिए ।
प्रतिसरा २० रुपैयाँका दरले किनेर ३र४ वर्षमा पूरानो सबै बगानमा अलैंची रोपे । आम्दानी पनि लोकल जातको अलैंची भन्दा छिटो दिन थाल्यो । तर केही साल फल्ने त्यसपछि सबै मर्ने समस्या सुरु भएपछि धेरै ककिसानले भएको अलैंची पनि उखेलेर अन्य खेती सुरु गरेका छन् ।
माईजोगमाई गाउँपालिका-६ का किसान मातृका थेबेले गत कात्तिकमा अलैंची टिपेर बगान मासेर हिउँदे आलु रोपे आलु । आलु पनि प्रशस्त फल्यो । ‘धन्न अलैंची उखेलेर आलु रोपिएछ, नत्र खडेरीले सबै अलैची सोत्तर बनाउने रहेछ’ उनी भन्छन्, ‘अब अलैंची बगान हेरेर हुन्न, दु:ख गरेर हुर्कायो, उत्पादन दिने समय भएपछि विभिन्न कारणले मर्न थाल्छ ।’
त्यस्तै माईजोगमाई गाउँपालिका-६ ओख्रेका राजन थेबे अलैंचीको भर नपरेर यो वर्ष थोरै भएपनि अकबरे खोर्सानी रोपेको बताउँछन् । पहिले उत्पादन राम्रै हुने भएकोले सब्जी खेती गर्ने ठाउँ समेत नराखी अलैंची लगाएका थेबेले यो वर्ष खडेरीले बगान नै सखाप बनाएको बताउँछन् ।
कुनै बेला स्थानीय भाषामा ‘खोल्सीको सुन’ उपनाम पाएको अलैंची अहिले मुस्किलले प्रतिमन ३० देखि ३५ हजारसम्म बजार लिईरहेको छ । अलैंची खेतीबाटै वार्षिक घर खर्च जोहो गर्दै आउने किसानहरुलाई अलैंची मासिएसँगै घर खर्च टार्न समस्या हुने भएको छ ।