सूर्योदय । सूर्योदय नगरपालिका नेपाल नगरपालिका संघबाट उत्कृष्ट नगरपालिका घोषणा भएको छ । कोशी प्रदेशको पर्यटकीय नगरपालिका घोषणा भएको नगरपालिकाको फोहोर व्यवस्थापन अस्तव्यस्त छ ।
फोहोरमैला व्यवस्थापन राम्रो नहुँदा सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजार क्षेत्रका जैविक विविधताले महत्वपूर्ण मानिएका खोल्साहरु दुर्गन्धित भएका छन् ।
खोल्साहरुमा अहिले फोहोरहरुको डङ्गुर देख्न सकिन्छ । नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारको फोहोरमैला व्यवस्थापन बारे जनचेतनामुलक कार्यक्रम पनि संचालन भएको छैन । फोहोरमैला व्यवस्थापन बारे दर्घकालिन योजना अहिलेसम्म नबन्दा फिक्कल बजारका खोल्साहरुमा फोहोरको डङ्गुर थुप्रिएको हो ।
हप्ताको ६ दिन फोहोर संकलन गरि नगरपालिकाको १२ नम्बर वडाको मलिममा डप्पिङ गरिँदै आएपनि फिक्कल बजारमा हप्ताको शुक्रबार मात्रै फोहोर संकलन हुँदै आएको छ । जसका कारण बजारको फोहोरहरु नजिकका खोल्साहरुमा जम्मा भएर दुर्गन्धित हुने गरेको हो । नगरपालिकाले दैनिक रुपमा २ ट्रिपर फोहोर संकलन गरि डम्पिङ साइडमा व्यवस्थापन गर्ने गरेको नगरपालिकको फोहारमैला व्यवस्थापनबारे हेर्दै आएका कर्मचारी इश्विरी अधिकारीले बताए ।
अधिकारीका अनुसार हर्कटे, छिपिटार,कन्याम, आइतबारे, फिक्कल तिनघरे, बरबोटे, पशुपतिनगर र श्रीअन्तु क्षेत्रबाट फोहोरहरुको संकलन हुँदै आएको छ । यी क्षेत्रमा रुटिङ मिलाएर हप्ताको ६ दिन फोहोर संकलन हुन्छ ।
फोहोर व्यवस्थापन बारे नगरपालिकाले प्रदेश सहयोग कार्यक्रम अन्तरगत कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट एकिकृत फोहारमैला व्यवस्थापन केन्द्र निर्माणको काम अघि सारेको छ । फोहोरको डम्पिङ गर्दै आएको नगरपालिकाले प्रदेश सरकारको सहयोगमा सो कार्यक्रम संचालन गर्न लागेको हो । सो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ३३ लाख बजेट विनियोजन भएको नगरपालिकाका इञ्जिनियर सिर्जन गदालले बताए ।
उनले भने–सुर्योदय १० रमितेमा १० रोपनी जग्गा खरिद गरि योजना कार्यान्वय गर्ने योजना रहेको छ । सो योजनाको डिपिआरको काम आगामि आर्थिक वर्षको अशोज महिनामा सकेर प्रदेश सरकारसँग संझौता गर्ने तयारी रहेको हो ।
मुयु खोलाको ९ रोपनी जग्गा उपयोग विहिन
युर्योदय नगरपालिका ९ को मयु खोला छेउमा खरिद भएको ९ रोपनी जग्गा अहिलेसम्म उपयोग विहिन छ । फोहोरमैला व्यवस्थापनका लागि तत्कालिन फिक्कल गाविसले खरिद गरेको सो जग्गा अहिलेसम्म प्रयोग विहिन भएको हो ।
सो जग्गामा सेफ्टि ट्याङ्कीबाट संकलन भएको फोहोर मात्रै फ्याकिदै आएको छ । अहिलेसम्म उपभोग नभएपनि अब जग्गा उपयोग गर्ने सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गा बरालले बताए । सो जग्गा फोहोरमैला पुःन प्रयोग केन्द्रका रुपमा उपयोग गर्ने नगरपालिकाको योजना रहेको बरालले जानकारी दिए ।