सन्दकपुर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरले आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन शुरु गरेको छ । सन्दकपुर गाउँपालिका २ को माइमझुवाबाट गाउँपालिकाले जनतासँगै प्रत्यक्ष अन्तरक्रिया र सुझाव संकलन शुरु गरेको हो ।
सन्दकपुर गाउँपालिका राजश्व शाखाकाको आयोजना सन्दकपुर २ को वडा कार्यालयमा सुझाव संकलनको काम सम्पन्न भएको हो । गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सनम राईको अध्यक्षतामा भएको अन्तरक्रिया र सुझाव संकलनमा वृद्धिजिवी, उद्योगी, व्यवसायी, जनप्रतिनिधि, राजनितिक दलका नेता, कर्याकर्ता, किसान र श्रमीकहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया र सुझाव संकलन कार्यक्रममा राजश्व परामर्श समितिका सचिव तथा राजश्व शाखाका प्रमुख भुपेन्द्र कट्टेलले राजश्वको दर, दायरा, क्षेत्र र आयश्रोत वृद्धिका बिषयहरुमा प्रष्ट पारेको थिए ।

अन्तरक्रियामा सहभागिले जनताको सुझावका आधारमा कर निर्धारण र योजना छनौटको काम राम्रो भएकाले करको दर हैन दायरा वृद्धि गर्नुपर्ने बताएका थिए । अन्तरक्रियामा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले आफु जनताबाट निर्वाचित भएकाले जनताका सुझाव संकलन गरेर मात्रै योजना छनौट गर्ने बताए । जनप्रनिधि जनताको मतबाट निर्वाचित भएपनि हामीले हरेक वर्ष जनताका आवश्यकता जनताबाटै माग गरि प्राथमिकताका आधारमा कार्यान्वय गर्ने योजना रहेको अध्यक्ष गुरुङ्गले बताए । उनले भने–हाम्रो गाउँपालिकाको अर्थतन्त्र, कृषि, पर्यटन र पशुपालनबाट विकास गर्न लागि परेका छौँ, त्यसै अनुसार योजना निर्माण गर्छौ ।

अन्तरक्रियामा बोल्दै राजश्व परामर्श समितिका सदस्य तथा गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले जनताको जनस्तर वृद्धिका लागि जनताकै प्रत्यक्ष सहकार्य गरि बजेट निर्माण गर्ने र करको दर निर्धारण गरि अघि बढ्ने गाउँपालिकाको निति रहेको बताए । उनले भने–जनप्रतिनिधि र जनताबिचको सहकार्य मार्फत मात्रै सन्दकपुरको विकास हुने भएकाले हामी को ठुलो सानु नभनिकन सबैसँग मिलेर सहकार्य गरि पालिकाको अर्थतन्त्र वृद्धि र श्रोत वृद्धिमा लागेका छौँ ।
अन्तरक्रियामा बोल्दै सन्दकपुर ३ का वडाअध्यक्ष लिल बहादुर बुर्जाले राजश्व संकलन गरि देश विकास हुने भएकाले हामीले सन्दकपुरबासीले पनि आफ्नो आयश्रोत वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले भने–हामीले चर्को कर संकलन हैन, करको दायारा फराकिलो बनाएर आयश्रोत वृद्धि गर्यौ भने लगानी पनि गर्न सक्छौ र धेरै योजनाहरुपनि कार्यान्वयन गछौँ ।
सन्दकपुर २ का वडा सदस्य बमबहादुर गुरुङ्गले स्वागत मन्तव्य राखेको अन्तरक्रियामा वडाध्यक्ष सनम राईले सन्दकपुरको अर्थतन्त्र विकासमा कृषि, पर्यटन र पशुपालनमा लगानी बढाउने योजना रहेको बताए । पर्यटनको अथाहा सम्भावना रहेको सन्दकपुरमा पर्यटन क्षेत्रमा पुग्ने पूर्वाधार विकास गरि कर संकलन गर्न सकिने बताए । कर संकलन गरि त्यसको लगानी पर्यटनमा नै गरि अर्थतन्त्र सुधारमा ठुलो टेवा हुने उनले बताए । अन्तरक्रियामा नेपाली काग्रेसका सन्दकपुर २ का अध्यक्ष घनश्याम गुरुङ्ग, नेकपा एकिकृत समाजवादीका गाउँपालिका उपाध्यक्ष प्रदिप राई, नेकपा एमालेका विरमान राई, सन्दकपुर सहकारीका अध्यक्ष मानविर राई, टोलविकास संस्थाका अध्यक्षहरु घनश्याम गुरुङ्ग, चित्रबिर गुरुङ्ग, हाइकमसिंह राईको उपस्थिति थियो ।
अन्तरक्रियामा सन्दकपुर गाउँपालिका आन्तरिक लेखा परिक्षण शाखाका सरोज दाहालले खर्चको लेखा परिक्षणबारे जानकारी गराएका थिए । ५ वटै वडामा हुने आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन कार्यक्रमको समापन पछि बिषयगत रुपमा पनि जनतासँग प्रत्यक्ष सम्बाद गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले सन्दकपुर ५ मा जेठ २९, ३० गते वडा नम्बर ३ मा ३१ गते वडा नम्बर ४ र ३२ गते वडा नम्बर १ मा अन्तरक्रिया तथा सुझाव संकलनको काम हुँदै आएको छ । अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम राजश्व परामर्श समितिको सदस्य तुलसादेवी खवासले संचालन गरेकी थिइन् ।