काठमाडौँ । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर डाँडासँगै पर्यटकीयस्थलहरुको विकासका लागि जनप्रतिनिधिको टोली अहिले काठमाडौँमा सक्रिय छ । हिमाली दृश्य, जैविक विविधता, लोपउन्मुख वन्यजन्तु, झरनाहरु, सयौँ चराहरुको बासस्थान रहेको सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थल भ्रमणका लागि गाउँपालिकाको टोलीले भ्रमणको निम्तो बाढ्दै गरेको छ । सँगैसँग सरकारका विभिन्न मन्त्रालयमा पुगेर आगामि आर्थिक वर्षका लागि बजेट मागको कामलाई समेत तिब्रता दिएको हो ।

सन्दकपूर गाउँपालिका वडाध्यक्षहरु लिल बहादूर बुर्जा, यज्ञबहादुर गुरुङ्ग र सनम राईको टोलीले बुधबार पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको थियो । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ का पूर्व सासंद हुन् । खनालसँग इलामको समग्र पर्यटन, कृषि, रोजगारीका अवसरसँगै पर्यटक प्रवद्र्धनका बारेमा छलफल भएको थियो । छलफलमा वडाध्यक्षहरुले इलामको शीर रहेको सन्दकपुर गाउँपालिकाको पूर्वाधार, सिमसार संरक्षण, पर्यटन प्रवद्र्धन, जैविक विविधता संरक्षण गरि स्थानीयको आयआर्जन वृद्धिका योजनाहरुको छनौट र कार्यान्वयनका लागि पहल गर्न अनुरोध गरेको थियो ।

जवाफमा पूर्वप्रधानमन्त्री खनालले इलामको विकासमा आफु सँधै क्रियासिल रहेको र आगामि दिनमा पनि पहल गर्ने बताए । खनालले भने–‘सन्दकपुर इलामको शीर हो यसको प्रवद्र्धनमा मेरो सकारात्मक पहल गरेको छु र आगामि दिनमा म निरन्तर सक्रिय हुनेछु ।
टोलीले सहरी विकास मन्त्री सिता गुरुङ्गसँग इलामको सन्दकपुरको विकास निर्माणका बारेमा छलफल गरेको छ । इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ सहित भएको छलफलमा सन्दकपुरको प्रमुख प्रशासनिक केन्द्र रहेको देउराली बजारको ढल तथा खानेपानीको दिगो विकासका लागि पहल गर्न मन्त्री सिता गुरुङ्गलाई माग पत्र पेश गरेको थियो । यस्तै कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडा पर्यटक आकर्षण गर्ने पार्क निर्माणमा संघीय सरकारले आगामि आर्थिक वर्षको बजेटबाट योजना कार्यान्वयनका लागि बजेट व्यवस्था गरिदिन मागपत्र पेश गरेको थियो ।

सन्दकपुर गाउँपालिकाको टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदिसँगपनि भेट गरि सन्दकपुर गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र देउराली बजारलाई स्मार्ट सिटि निर्माणको योजना कार्यान्वयन लैजान माग पत्र पेश गरेको थियो । पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको सन्दकपुरको सबै पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि पनि मन्त्रालयको तर्फबाट पहल गर्न आग्रह गरेको थियो । सोहि अवसरमा जनप्रतिनिधिहरुको टोलीले सन्दकपुरको समग्र संभावना समेटिएको फोटोहरुको सग्रह हस्तान्तरण समेत गरिनुका साथै सन्दकपुर भ्रमणको निम्तो समेत दिएको थियो ।