झापा । इलामको सन्दकपुर गाउँपालिकामा निर्माण हुँदै आएका प्रदेश सरकारका आयोजनाहरु समयमा सम्पन्न गर्नेबारे पूर्वाधार कार्यालय झापामा छलफल भएको छ । प्रदेश सासंद तथा पूर्व पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुको नेतृत्वको जनप्रतिनिधिको टोलीले पूर्वाधार विकास कार्यालय झापामा छलफल गरेको हो ।
जिल्ला समन्वय समिति इलामकी उप–प्रमुख चित्रकला बराइली, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, वडाध्यक्षहरु सनम राई, ढाल बहादूर गुरुङ्ग, यज्ञ गुरुङ्ग र लिल बहादुर बुर्जाको उपस्थिति रहेको थियो । जनप्रनिधिहरुको टोलीले प्रदेश सरकारबाट कार्यान्वयन हुँदै आएको इलाम सन्दकपुर पर्यटकीय सडकको पहिलो प्याकेजको १२ किलोमिटर सडक निर्माणको काम सुस्त भएको गुनासो गरेका थिए ।

उनीहरुले सडक निर्माणको काम सुस्त हुनुका साथै गुणस्तरमा समेत जनताको गुनासो आएकाले पूर्वाधार कार्यालय झापाबाट अनुगमनको काम नियमति हुनुपर्ने बताएका थिए । जवाफमा पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले गुणस्तरीय सडक निर्माणका लागि कार्यालय प्रतिवद्ध रहेको बताए ।
इलाम सन्दकपुर सडकको पहिलो प्याकेजको माईखोला सडक खण्डमा नियमित गइरहेको पहिरो रोकथामका लागि समेत पहल गर्ने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए ।

छलफलमा प्रदेश सासंद खिनु लङ्वा लिम्बुले प्रदेश सरकारबाट संचालन भइरहेका आयोजनाहरुको गुणस्तर र समयमा काम सम्पन्नका लागि आवश्यक पर्ने सहयोग गर्न निरन्तर लाग्ने बताइन् । उनले प्रदेश सरकारबाट बहुवर्षे स्वीकृत भएका सडक आयोजनाहरुमा देखिएको भुत्तानीको समस्या समाधान गर्न आफु लाग्ने बताइन् ।
छलफलमा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले प्रदेश सरकारका आयोजनाहरुको कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार भएको बताए । उनले निर्माण व्यवसायीहरुलाई निरन्तर सहयोग गरिरहेको पनि बताए ।

छलफलमा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले पूर्वाधारका आयोजनाहरु गुणस्तरीय बनाउन गाउँपालिकाको अनुगमन टोलीले पनि सहयोग गर्ने बताए । छलफलमा वडाध्यक्षहरु सनम राई, लिल बहादूर बुर्जा, ढाल बहादुर गुरुङ्ग र यज्ञ बहादुर गुरुङ्गले प्रदेशका सरकारका आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए । सोहि अवसरमा पूर्वाधार विकास कार्यालय झापालाई सन्दकपुर गाउँपालिकाले प्रकाशित गरेको फोटो बुक गाउँपालिका अध्यक्ष र उपाध्यक्षले हस्तान्तरण गरेका थिए ।