Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासँग विराटनगरमा अन्तरक्रिया (तस्बिरहरु)

सन्दकपुरमा पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासँग विराटनगरमा अन्तरक्रिया (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शनिबार, बैशाख १६ २०८०


सन्दकपुरमा पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासँग विराटनगरमा अन्तरक्रिया  (तस्बिरहरु)

विराटनगर । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरको पर्यटन प्रवद्र्धन र बढीभन्दा बढी पर्यटकलाई भ्रमण गराउन विराटनगरमा अन्तरक्रिया गरिएको छ ।
महाभारत पर्वतको अग्लो डाँडा सन्दकपुरसँगै थुप्रै पर्यटकियस्थल रहेको सन्दकपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि मोरङ र सुनसरीमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।

सन्दकपुर गाउँपालिका २ का अध्यक्ष सनम राईको नेतृत्वको टोलीले पर्यटन प्रवद्र्धनका लागि निर्माण गरेको फोटो बुक प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाई ‘सचिन’ लाई हस्तान्तरण गरेको थियो ।


फोटो बुक हस्तान्तरणसँगै टोलीले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासका लागि सहयोग गर्न आग्रह गरेको थियो । मुख्यमन्त्री कार्की र मन्त्रीद्धय आचार्य र चापागाईले आगामि आर्थिक वर्षको बजेटबाट सन्दकपुर गाउँपालिकाको पर्यटन विकासमा टेवा पुग्ने खालका योजनाहरुमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए । सन्दकपुर गाउँपालिकाको पर्यटकिस्थल, धार्मिकस्थल, सास्कृतिक क्षेत्र, खोलानाला, झरना, सिमसार, जैवीक विविधता, वन्यजन्तु र पोखरीहरुको फोटो संकलन गरि निर्माण भएको फोटो बुक राजनीतक दलहरुका नेताहरुलाई पनि हस्तान्तरण गरिएको थियो ।


टोलीले नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङ‘मिक्सो’, प्रदेश उपाध्यक्ष बिजय साम्पाङ लगायतको टोलीसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा प्रदेश अध्यक्ष नेम्बाङ सहितको टोलीले आगामि आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । टोलीले नेकपा एकिकृत समाजवादी पार्टी प्रदेश सचिव महेश रेग्मीले सहितको टोलीसँग अन्तरक्रिया गरेको थियो । पर्यटन प्रवद्र्धनमा सहयोग गर्न र पार्टीको प्रदेशको टोली नै पनि सन्दकपुर पदयात्रा गरेर सहयोग गर्न टोलीले आग्रह गरेको थियो ।


सन्दकपुर पर्यटन प्रवद्र्धन अभियान टोलीले नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य कृष्ण साहासँग अन्तरक्रिया गरेको थियो । पर्यटन बोर्डका सदस्य साहलाई सन्दकपुर गाउँपालिकाले प्रकाशन गरेको फोटो बुक र ब्रोसर हस्तान्तरण गरिएको थियो । फोटो बुक हस्तान्तरणपछि सन्दकपुर गाउँपालिका २ का अध्यक्ष सनम राईले पर्यटन प्रवद्र्धनका लागि समुदायलाई नै प्रशिक्षण गर्नुपर्ने भएकाले जनचेतनामुलक कार्यक्रम संचालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा पर्यटन बोर्डका सदस्य कृष्ण साहले आगामि आर्थिक वर्षको बजेटमा सन्दकपुरको पर्यटन प्रवद्र्धन र विकासका लागि आवश्यक कार्यक्रम संचालनका लागि पहल गर्ने बताए । टोलीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहनराज चापागाईसँग पनि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारका योजना कार्यान्वयनका लागि अन्तरक्रिया गरेको थियो ।
पत्रकारसँग अन्तरक्रिया
प्रदेश प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा बढी भन्दा बढी पर्यटक पुर्याउनका लागि प्रदेशका राजधानी विराटनगरका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा उपाध्यक्ष तारा आर्चायको अध्यक्षतामा भएको अन्तरक्रियामा सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष सनम राईले सन्दकपुर गाउँपालिका भित्रको पर्यटकीयस्थलको अवस्था, पूर्वाधार र यातायातको सुविधाका बारेमा जानकारी दिएका थिए ।


उनले पर्यटन प्रवद्र्धनका लागि संचार क्षेत्रको महत्वपूर्ण भुमिका रहेकाले आगामि दिनमा संचारक्षेत्रको अझ बढी योगदान सन्दकपुरको पर्यटन विकासका लागि आवश्यक रहेको बताए । वडाध्यक्ष राईले संचारकर्मीहरुलाई पनि रामसार क्षेत्र माईपोखरीबाट टप्पु छिन्टापु, सन्दकपुर हुँदै ढापपोखरी जोड्ने पदमार्गमा पदयात्राका लागि अवसर दिइने बताए ।


अन्तरक्रियामा पर्यटकीय क्षेत्र सन्दकपुरको भ्रमण गरेसकेका नेपाल फोटो पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष बेदराज पौडेलले सन्दकपुरको पर्यटकीय संभवाना र त्यहाँ पुगेपछि पाइने आनन्द शब्दमा वर्णन गर्न नसकिने बताए । नेपालबाट भन्दा पनि बढीभन्दा बढी भारतबाट पर्यटक पुग्ने सन्दकपुर क्षेत्रको सुरन्दरता, त्यहाँबाट देखिने हिमाली दृश्य, नेपाल, भारत, भुटान र चिनको तिब्बतका हिमश्रङ्खला, चराहरु, जडिबुटी, आदिवासी सस्कृति पाइने भएकाले त्यहाँ पुगेपछिको स्वर्गिय आनन्द बैलै हुने बताए ।
सन्दकपुर भ्रमण गरेका प्रेश सेन्टर नेपालका प्रदेश अध्यक्ष बिनोद घिमिरेले सन्दकपुर गाउँपालिका भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचार गर्न सके गाउँपालिकाको मात्रै नभएर प्रदेशकै अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए । उनले भने–‘सन्दकपुरको पर्यटन प्रवद्र्धनबाट पश्चिम बंगालको अर्थतन्त्र विकास भएको छ हामीले पनि लगानी गरि हाम्रो प्रदेशको अर्थतन्त्र विकासमा लाग्नुपर्छ ।’


अन्तरक्रियामा बोल्दै सन्दकपुर ५ मा रेडपाण्डा पर्यटन प्रवद्र्धनका लागि अग्रसर मान बहादुर गुरुङ्गले विश्वमा लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डाको अवलोकनका लागि आउन पत्रकारहरुलाई निम्तो दिए । अन्तरक्रियामा ‘भिजिट सन्दकपुर फोटो बुक’ का फोटोग्राफर सुजन तिमसिनाले सन्दकपुर प्रदेशको मात्रै नभएर विश्वकै ६० बढी हिमालका चुचुराहरुको दृश्यावलोकन गर्न सकिने एक मात्र पर्यटकीय गन्तव्य भएकाले सबै संचारकर्मीले प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका थिए । टोलीले नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष लिलाबल्लव घिमिरे, महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछानेसँगै पनि छुट्टै अन्तरक्रिया गरेको थियो ।


पत्रकारहरुको अन्तरक्रिया समापनपछि संस्थागत रुपमा ‘भिजिट सन्दकपुर फोटो बुक’ नेपाल पत्रकार महासघ प्रदेश समिति, मोरङ जिल्ला समिति, नेपाल फोटो पत्रकार महासंघ प्रदेश समिति, प्रेश सेन्टर नेपाल प्रदेश समिति, प्रेश युनियन, प्रेश चौतारी र समाजवादी प्रेश संगठनलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार