सन्दकपुर । लोप हुन लागेको बेलायतको प्रसिद्ध ल्याण्डरोभर कम्पनीको ७५ वर्ष पुरानो गाडिबाट इलामको सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको यात्रा सम्पन्न भएको छ । नेपालमा चलाउन प्रतिबन्ध भएर पुनः संचालनमा आएको ल्याण्डरोभर गाडिको यात्रा मार्फत साहसिक पर्यटनको प्रवद्र्धन गर्न सन्दकपुर गाउँपालिकाले प्रथम सन्दकपुर महोत्सवको अवसरमा ‘ल्याण्डरोभर सफारि’ को आयोजना गरिएको थियो ।

ल्याण्रोभर गाडी निर्माण र संचालन भएको ७५ वर्ष पुगेको छ । ‘ल्याण्डरोभर सफारि’ को नेतृत्व कोशी प्रदेशका प्रमुख परसुराम खापुङको नेतृत्वमा भएको थियो । सन्दकपुर गाउँपालिकाको प्रमुख प्रशासकिय भवन सन्दकपुर ३ माबुमोड देउरालीबाट शुरु भएको ‘ल्याण्डरोभर सफारि’ दुई दिन संचालन भएको थियो । ‘ल्याण्डरोभर सफारि’ प्रमुख प्रशासकिय भवनबाट शुरु भई पर्यटकीय क्षेत्र टोड्के झरना, सास्कृतिक गाउँ माबु सन्दकपूर ४, सन्दकपुर ५ ढापपोखरी पुगेको थियो ।

बैशाख ६ गते कोशी प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठुलो मानव निर्मित चन्द्रपाल थेवे ढापपोखरीबाट पुनः सन्दकपुर ४ माबुहुँदै प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर सम्म ‘ल्याण्डरोभर सफारि’को काम भएको थियो । २ दिन सम्म संचालन भएको ‘ल्याण्डरोभर सफारि’ मा इलाममा संचालित ५ वटा ऐतिहासिक ल्याण्डरोभर गाडिहरु सहभागि भएका थिए ।

‘ल्याण्डरोभर सफारि’ को दोस्रो दिन ३६ सय ३६ को सन्दकपुर डाँडाबाट बिखेभञ्ज्याङ्ग, कालपोखरी, श्रीयाङ्जि, बुधबार बजार, डाइमण्ड ढुङ्गा र संखे ढुङ्गाको अवलोकन गर्दै देउराली बजारमा बजारमा पुगेर टुङ्गिएको थियो । ‘ल्याण्डरोभर सफारि’को समापनका अवसरमा सन्दकपुर गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजको टोलिले प्रदेश प्रमुख लगायतको टोलीलाई बिदाई गरेको थियो । ‘ल्याण्डरोभर सफारि’ को अवसरमा प्रदेश प्रमुख र सबै पर्यटकीयस्थलका पर्यटन व्यवसायी स्थानीयबासीले पर्यटन प्रवद्र्धनका बारेमा अन्तरक्रिया गरेका थिए ।

त्यस अवसरमा प्रदेश प्रमुख खापुङ्गले आफु सन्दकपुरको पर्यटन प्रवद्र्धनमा निरन्तर लागि पर्ने पर्यटन व्यवसायी र स्थानीयबासीलाई जानकारी गराएका थिए । सडक कच्चि भएपनि ‘ल्याण्डरोभर सफारि’ मा यात्रा गर्दा मलाई अत्यन्तै सुखद अनुभुति भएको बताए । मेरो यात्राबाट कुन पनि विकास र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हुन्छ भने यहाँ भन्दा कठिक यात्रा गर्न चाहान्छु,–प्रदेश प्रमुख परसुराम खापुङले भने–‘मेरो एक मात्र उदेश्य छ सन्दकपुरले लिएको पर्यटन प्रवद्र्धनको लक्ष्य पुरा गर्न कठिन यात्रा र पदयात्रा गर्न तयार छु ।’

रोमान्चित र साहसिक ‘ल्याण्डरोभर सफारि’ को नेतृत्व गरेर यात्रा गर्न पाउँदा मैले आफुलाई निकै भाग्यमानि ठानेको छु, प्रदेश प्रमुख खापुङले भने । ‘ल्याण्डरोभर सफारि’ मार्फत पर्यटकीयस्थलहरुको भ्रमणमा प्रदेश प्रमुख जस्तो बिशिष्ठ पाउनले यात्रा गर्दा व्यवसायीलाई पनि राहत मिलेको पूर्वेली जिप तथा ट्याक्सि व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले बताए । महाभारतका पहाडको चिसो हावापानीमा साहसिक पर्यटनको प्रवद्र्धन गर्न ‘ल्याण्डरोभर सफारि’ को आयोजना गरिएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
‘ल्याण्डरोभर सफारि’ मा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली, नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङ्हाङ लगायत ३६ जनाको सहभागिता रहेको थियो । ‘ल्याण्डरोभर सफारि’ को संयोजन सन्दकपुर गाउँपालिकाका कर्मचारी रमेश भट्टराईले गरेका थिए ।
ल्याण्डरोभर गाडिको इतिहास
५ वर्ष अघि ल्याण्डरोभर गाडि भारतसँगको सीमा नाका मानेभञ्ज्याङमा ल्याण्डरोभर कम्पनीले ७० औं वर्षगाँठ मनाएको थियो । नेपालमा यो गाडि ३५ वर्ष पुरानाको सूचीमा सूचीकृत भइसकेको छ ।
पर्यटन, जङ्गल सफारी र हिमाली क्षेत्रमा सजिलै चलाउन मिल्ने पुराना ल्याण्डरोभर मोडलका जीप अब्बल रहेका छन् । अहिलेका मोडलका गाडीले ल्याण्डरोभरको स्थान अझै लिन सकेका छैनन् । त्यहि भएर ५ वर्ष अघि सरकारले चलाउन बन्द गरेको ल्याण्डरोभर गाडीका लागि छुट्टै व्यवस्था गर्न व्यवसायीले माग गरेपनि पुनः संचालनको अनुमति पाएको थियो ।

५१ वर्ष अगाडिदेखि ल्याण्डरोभर जीप कुदाएका सिंहलीला ल्याण्डरोभर एशोसिएशन मानेभञ्ज्याङका पासाङ तामाङले ल्याण्डरोभर गाडी आल्मुनियमको प्रयोगबाट बनेको र यसको हलुङ्गो बनावटले पहाडी कच्ची सडकमा सजिलै गुड्ने बताए । उनले इलाम र पाँचथरका लेकाली ग्रामीण बस्तिमा धेरै वर्ष यो गाडि गुडाएका थिए । नेपाल भारको सीमा क्षेत्र मानेभञ्ज्याङ्गदेखि सन्दकपुर फालोटसम्म पर्यटकको ओसारपसार मात्र नभएर सीमावर्ती क्षेत्रका बासिन्दाका लागि रासन पानी ओसार्न पनि ल्याण्डरोभरकै प्रयोग भइरहेको हुन्छ ।

भारततर्फ सीमा नाका मानेभञ्ज्याङमा मात्र ४५ ओटा ल्याण्डरोभर जीप सञ्चालनमा छन् । पहाडी कच्ची सडकमा हिउँ परेका बेला र वर्षायाममा अन्य मोडलका गाडी नजाने भएकाले ल्याण्डरोभरको प्रयोग हिउँद वर्षा दुवै याममा उत्तिकै गुड्ने गरेको छ । १९४८ अप्रिल ३० तारिखबाट बन्न थालेको ल्याण्डरोभर जीप आजसम्म निरन्तर चलिरहेको पाएपछि ल्याण्डरोभर कम्पनीसमेत चकित छ । ५ वर्ष अघि ७० औँ वर्षगाठ मनाउँदा जेगोर ल्याण्डरोभर कम्पनी मुम्बईका प्रमुख मन्नत सिंहले हालसम्म ल्याण्डरोभर चलिरहेको देखेर यसको खोजी गरेको बताएका थिए ।
जेगोर ल्याण्डरोभर कम्पनीले हालसम्म ल्याण्डरोभर चलाइरहेका ड्राइभरको सम्मान गर्दै मानेभञ्ज्याङमा सोमवार ७० औं वर्षगाँठ मनाएको थियो । पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष ग्रीष्म सुब्बाले इलाममा २० देखि ४० ओटा सम्म ल्याण्डरोभर जीप सञ्चालनमा रहेका छन् । ‘वर्षायाममा सन्दकपुरसम्म पर्यटक लान ल्याण्डरोभर नै चाहिन्छ,’ उनले भने, ‘हिउँदयाममा पनि अन्य गाडी चल्दैन । अनि पहाडी क्षेत्रका बासिन्दालाई रासन र कृषि उपज ओसारपसारमा पनि यसको उपयोग उत्तिकै छ ।