सन्दकपूर । विश्वका हजारौँ पर्यटक पुग्ने सन्दकपूर डाँडा पर्यटकीय क्षेत्र रहेको इलामको सन्दकपुर गाउँपालिकामा साहसिक पर्यटनको प्रवद्र्धनका लागि साइकल राइडरहरुले आफ्नो यात्रा पुरा गरेका छन् ।

प्रथम सन्दकपुर महोत्सवको अवसरमा साहसिक पर्यटनको प्रवद्र्धन गर्नका लागि बैशाख २, ३ र ६ र ७ गते साइकल राइडरहरुले आफ्नो यात्रा पुरा गरेका हुन् । पर्यटकीय गाउँपालिका सन्दकपुर भित्रका पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्नका लागि सन्दकपुरमा २०७८ चैत्र २४ बाट बैशाख १० गतेसम्म महोत्सवको आयोजना गरिएको छ । महोत्सवको अवसरमा बैशाख २ देखि ३ गतेसम्म इलामको सन्दकपूरबाट माबु, टोड्के झरनाहुँदै रामसार क्षेत्र माईपोखरीसम्म साइकल राइडरहरुले यात्रा गरेको महोत्सव आयोजक समिति साइक्लिङ्ग उप– समिति संयोजक रेखा गुरुङ्गले बताए ।

प्रथम सन्दकपुर महोत्सवको औपचारीक कार्यक्रम बैशाख ५ गते उद्घाटन भएपछि ६ गते पर्यटकीय क्षेत्र जोड्ने गरि साइक्लिङ्गको काम भएको थियो । सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय भवनबाट शुरु भएको साइक्लिङ्गको कार्यक्रम कोशी प्रदेशका प्रदेश प्रमुख परसुराम खापुङले रिबिन काटेर उद्घाटन गरेका थिए ।
प्रमुख प्रशासकिय भवन माबुमोडबाट शुरु भएको साइक्लिङ्ग पर्यटकीय क्षेत्र टोड्के झरना, माबु सोमबारे, ढापपोखरी पुगेर जमुना बजार माईखोलाबाट घुमेर पुनः देउराली आइपुगि टुङ्गिएको थियो । साहसिक पर्यटन प्रवद्र्धन गर्न र पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यले आयोजित साइक्लिङ्गमा इलाम, झापा र सुनसरी जिल्लाका साइकल राइडरहरुको उपस्थिति रहेको थियो ।

इलाम एनटिबि राइडर सांस्था फिक्कल इलामका अध्यक्ष शरण फागोको नेतृत्वको साइकल राइडरहरुको टोलीले साइक्लिङ्ग गरेको थियो । साहसिक पर्यटन प्रवद्र्धनका लागि साइक्लिङ्ग गर्ने योजनाका साथ महोत्सवमा पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने योजनाका साथ भएको साइक्लिङ्गमा १५ जना साइकल राइडरहरु सहभागि भएका थिए ।
सन्दकपुरका फरक फरक पर्यटकीयस्थल भ्रमण गर्दै साइक्लिङ्ग गरेका राइडरहरुले आफुहरुलाई उत्साहित बनाएको बताएका थिए । सन्दकपुरमा धेरै पर्यटकीस्थलहरु र हावापानी पनि साइक्लिङ्गका लागि अधिक संभावना रहेछ– एन टि बी राइडर फिक्कल इलामका अध्यक्ष शरण फागोले भने–‘हामी अब सबै पर्यटकीयस्थल पुग्ने गरि ७ दिनको प्याकेज बनाएर हिड्ने योजना बनाएका छौँ ।’ फागोले भने–‘सन्दकपुर साइक्लिङ्गको माध्यमबाट पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ, अति सम्भावना छ ।’
सन्दकपुरमा साइक्लिङ्गको संभावना
कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा हरेक वर्ष तेस्रो मुलकका पर्यटक साइकलमा पुग्ने गरेका छन् । नेपालको काठमाडौँ र भारतको कलकत्ताबाट सन्दकपूर हुँदै कंचनजङ्घासम्मको साइकलबाट यात्रा गर्ने पर्यटकको संख्या हरेक वर्ष हुने गरेको छ । नेपालपट्टि साइकल चलाउनका लागि आवश्यक पदमार्ग अभाव भएपनि पर्यटक भारतीय बाटो प्रयोग गरेर साइकलमा सन्दकपूर पुग्ने आएका थिए । तर अहिले सन्दकपुर गाउँपालिकाले साइक्लिङ्ग मार्फत पर्यटन प्रवद्र्धनको खोजि गरेको छ ।

वर्षमा दुई लाख बढी पर्यटक पुग्ने सन्दकपूरमा अशोज र कात्तिक महिनामा साइकलबाट पर्यटक पुग्दै आएका छन् । हरियाली इलामका डाँडाहरुमा साइक्लिङ्ग गर्दै रमाउने पर्यटकको संख्या बढेपनि सन्दकपुरमा साइकल पर्यटनका आवश्यक पूर्वाधार बनाउने योजना रहेको गाउँपालिकाको योजना छ ।
दर्जनौ पर्यटकीयस्थल रहेको सन्दकपूरमा साइक्लिङको लागि आवश्यक रुट समेत छनौटका लागि अध्ययन भइरहेको छ । सन्दकपुर गाउँपालिका भित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने गरि साइकलका रुटको छनौटका लागि अध्ययन भइरहेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । सन्दकपूर गाउँपालिकाले ३ वटा साइकल रुटहरुको छनौटका लागि अध्ययन भइरहेको छ ।


