सन्दकपुर । नेपाल दोस्रो अग्लो झरना टोड्के झरनामा पर्यटन प्रवद्र्धनका लागि भलिबल प्रतियोगिता शुरु भएको छ । प्रथम सन्दकपुर महोत्सव अन्तरगत टोड्के झरनाको प्रचारप्रसार र प्रवद्र्धनका लागि वडास्तरीय भलिवल प्रतियोगिता आयोजना शुरु भएको हो ।

टोड्के झरना पर्यटन पुर्वाधार निर्माण विकास समितिको आयोजनामा दुई दिने भलिबल प्रयोगिता आयोजना भएको हो । टोड्के झरनाको छेउमा भलिबल मैदान निर्माण गरि समुदायको सक्रियतामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १५ वटा भलिबल टिम सहभागिता रहेको छ ।

पर्यटन प्रवद्र्धनका लागि सन्दकपूर २ को वडाबाट खेलकुद प्रतियोगिताका लागि १ लाख ८२ हजार र पर्यटन प्रवद्र्धन तथा महोत्सवको गतिविधिका लागि १ लाख रुपैयाँ बजेट प्रदान गरेको थियो ।

समग्र युवाहरुको विकासका लागि वडा समितिले वडा नम्बर २ को युवाहरुको योजनामा पालिकाभरिका सबै युवाहरुको सहभागिता र सन्दकपुरमा कमैमात्रै आयोजना हुने भलिबल प्रतियोगिता गरिएको वडा अध्यक्ष सनम राईले बताए ।

टोड्के झरना पर्यटन पुर्वाधार विकास निर्माण समितिका अध्यक्ष हाईकमसिंह राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष सनम राई रहेका थिए । प्रतियोगितामा वडा नम्बर १ का अध्यक्ष रहरकुमार राई, ३ का अध्यक्ष लिलबहादुर बुर्जा, वडा नम्बर २ का सदस्य अमृत राई, सन्दकपुर महोत्सवका मुल समिति सह सचिव हरि गुरुङ्ग, २ नम्बर वडा उप–समिति संयोजक विरमान राई, प्रचारप्रसार समिति संयोजक सुरेश बुर्जा मगर, बन्दुके प्रहरी चौकीका प्रमुख रमेश कटुवाल, सदस्कपुर महोत्सव सल्लाहाकार सदस्य भोजबहादूर राई, सन्दकपुर कृषि सहकारी संस्थाका अध्यक्ष मानबिर राई लगायतको आथित्यता रहेको थियो । प्रतियोगितासँगै स्थानीय कृषि उत्पादन र आदिवासी जनजाति समुदायको परिकारहरुको प्रदर्शनी गरिएको थियो ।

टोड्के झरनाको बढी भन्दा बढी प्रचारप्रसार गर्नका लागि आयोजना भएको महोत्सवको कार्यक्रममा भारतको दार्जिलिङ, पाँचथर र इलामका ७ सय बढी आन्तरिक र बाह्य पर्यटकको उपस्थिति रहेको थियो ।
