Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम–माइपोखरी म्याराथनः आर्मीका हुमलाल र पुलिसकी राजपुरा पहिलो

इलाम–माइपोखरी म्याराथनः आर्मीका हुमलाल र पुलिसकी राजपुरा पहिलो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख १ २०८०


इलाम–माइपोखरी म्याराथनः आर्मीका हुमलाल र पुलिसकी राजपुरा पहिलो

सन्दकपुर । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र नेपाल पुलिस क्लबकी राजपुर पछाईले इलाम–माइपोखरी म्याराथुन जितेका छन्। ४२.२ किलोमिटर दुरी श्रेष्ठले २ घन्टा ५८ मिनेट १६ सेकेन्डमा पार गरी प्रथम पुरस्कार जित्न सफल भए । विजेता बनेसँगै श्रेष्ठले नगद अढाई लाख पुरस्कार पाएका छन्।

पुरुषतर्फ आर्मीकै मोहनदेव जोशी दोस्रो बने। उनले ३ घन्टा ५ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरे। उनले डेढ लाख नगद पाएका छन्। आर्मीकै बेद सुनुवार तेस्रो बने। सुनुवारले ३ घन्टा ५ मिनेट ३५ सेकेन्डमा दुरी पार गरे। उनले १ लाख नगद पुरस्कार पाए । पुरुषतर्फ ९७ धावक सहभागी भए।

२१.१ किलोमिटरको महिला म्याराथुन नेपाल पुलिसकी राजपुरा पछाईले जितिन्। उनले निर्धारित दूरी १ घन्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गरिन्। विजेता बनेसँगै उनले नगद १ लाख पुरस्कार हात पारिन्। महिलातर्फ सशस्त्र प्रहरीको एपिएफकी पुष्पा भण्डारी दोस्रो भइन्। १ घन्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरी उनले नगद ५० हजार पुरस्कार पाइन्।

आर्मीकी पूर्णलक्ष्मी नेउपाने १ घन्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गरी तेस्रो भइन्। उनले नगद ३५ हजार हात पारिन्। महिलातर्फ २७ धावक सहभागी थिए। पुरुषतर्फको दौड इलाम नगरपालिका–१०, गोदकको नारायण चोकबाट र महिलाको इलाम सदरमुकामबाट सुरु भएको थियो। दुवैतर्फको दौडको अन्तिम बिन्दु सन्दकपुर गाउँपालिकाको देउराली बजारछेउको सातखाल्डे खेलमैदान थियो। अहिले पनि केही प्रतियोगी निर्धारित दूरी पार गर्न प्रयास गरिरहेका छन्।

‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित म्याराथन आयोजना गरिएको हो। पुरुष म्याराथुनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको थियो। इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणले संयुक्त रूपमा म्यारथुन आयोजना गरेका हुन्।

पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने इलाम नगरका मेयर केदार थापाले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार