सन्दकपूर । कुहिरोसग लुकामारी खेल्दै ढकमक्क फुलेका लालीगुरासलाई आफ्नै मनभरी सजाउँदै अनि चराहरुको चिरबिर चिरबिर आबाजसंगै प्रकृतिको काखमा रमाउँदै जव सन्दकपुरमा पाइला टेकिन्छ । तब धर्तिमै स्वर्गिय आनन्दको अदभुत अनुभुति गर्न पाइन्छ ।

छिनछिनमा बदलीरहने मौसम र आँखै अगाडी देखिने सेताम्म हिमालले सन्दकपुर पुग्ने प्रत्येकको मनलाई सदैव आफु तिर तानिरहन्छ । अनेकै प्रजातिका चरा र लोपोन्मुख बन्यजन्तुको बासस्थानको कारण सन्दकपुर सधै सबैको मनमस्तिकमा अमिट छाप बनेर रहिरहन्छ ।

३ हजार ६३६ मिटरको उचाईमा अविस्थत सन्दकपुर इलामको सन्दकपुर गाउँपालिका २ र ४ मा अवस्थित छ । नेपाल भारत र भुटानको हिमाललाई अंगालो हालेर बसको सन्दकपुर एक साथ ३ देशको हिमालय अवलोकन गर्न सकिने दक्षिण एसियाको एक मात्र ठाउँ हो ।

हिमाल वस्तीमा रमाउँदै सूर्योदय र सूर्यास्तको दृश्य अवलोकन सन्दकपुरबाट गर्न सकिन्छ । सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालु, पाथीभरा कुम्भकर्ण जस्ता ६० बढि हिमचुचुरालाई एकै ठाउँबाट नियाल्न सकिने नेपालकै एक मात्र स्थान हो सन्दकपुर ।
इलामको चारखोला मध्ये पवित्र माई नदीको मुहान रहेकाले सन्दकपुर धार्मिक दृष्टिले पनि पुजनीय मानिन्छ । जसले गर्दा यहाँ श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । सन्दकपुर डाँडाबाट इलाम झापा र पश्चिम बंगालका गाउँ बस्तीहरु हत्केलमा राखेर हेरिरहु जस्तो लाग्दछ ।

बंगालको खाडीबाट विहानै झिसमिसेमा उदाउने झुल्केघामको लालीमा हिमालहरुमा टल्किदा आहा उचाई चुम्नुको मज्जा कति हो कति । त्यसो हुँदा त हिउँदमा हिउँ र बर्षातमा झरीसंगै कुहिरोमा रमाउन सन्दकपुरमा देश विदेशबाट आउनेहरुको संख्या बढ्दो छ ।

नेपालमा पाइने विभिन्न प्रजातीका गुरास मध्ये सन्दकपुर पदयात्राका क्रममा मात्रै २६ प्रजातीका गुरास भेटिन्छन् । बनैभरी फुलेका लालीगुरासले हर मनलाई आफु तिर भुलाइरहेको हुन्छ । चराहरुको चिरबिर चिरबिर आवाज अग्ला भिरमा पाइने भिरमौरी, लोपोन्मुख बन्यजन्तु रेडपान्डा र गिद्धको अध्ययन गर्दै प्रकृतिसंग रमाउने पाइने भएकाले सन्दकपुरको यात्रामा विश्वभरका पदयात्रीको मन तानिएको छ ।

भारत, भुटान, बंगलादेश र युरोपका गरी बर्षमा डेढलाख बढि पर्यटकले सन्दकपुर भ्रमण गर्ने गर्दछन् । चराको आँखा बर्ड आइ प्लेसले परिचित सन्दकपुरलाई नेपाल सरकारले २०७५ सालमा १ प्रदेश १ सांस्कृतिक ग्राम घोषणा गरेपछि खानेपानी, विद्युत पदमार्ग जस्ता पुर्वाधार निर्माणको कामले तिब्रता पाएको छ ।

नेपालको इलाम र भारतको पश्चिम बंगालको शीर सन्दकपूरमा नेपाल सरकारले केन्द्रिय प्रशारण लाइन पु¥याएको छ । सन्दकपूर पुग्ने सडक अहिले निरन्तर स्तरउन्नतीले यात्रा सहज भएको छ ।

सन्दकपूर डाँडामा खानेपानीको सुविधाका लागि अहिले धमाधम निर्माण हुँदै आएको छ । संचारको सुविधाका लागि नेपाल टेलिकमले आफ्नो सेवा बिस्तार गरेको हो ।
पर्यटक बास बस्नका लागि र खानेपानीको सुविधाका लागि प्रदेश १ सरकारले निर्माणलाई तिब्रतादिँदा सन्दकपूरबासी अत्यन्तै खुशि छन् ।
सन्दकपूर डाँडा माई नदीको मुहान क्षेत्र भएकाले मुहान संरक्षण र पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन् । त्यसो त सरकारले सन्दकपूर गाउँपालिका १ को रामसार क्षेत्र माईपोखरीदेखि टप्पु, छिन्टापु हुँदै सन्दकपूर जोड्ने पदमार्ग निर्माण भएपछि पदयात्रीको संख्या पनि बढेको छ ।

गाडिमा यात्रा गर्दा इलाम सदरमुकाम–माईपोखरी–कालपोखरी हुदै ४२ किलोमिटरको यात्रापछि सन्दकपुर पुगिन्छ । सन्दकपुर जाने अर्को बाटो इलाम बजार–विब्ल्याटे–सुलुबुङ– माबु–कालपोखरीबाट पनि हो । महाभारत पर्वतको अग्लो स्थान सन्दकपुरको पदयात्रामा निस्कदा बाटैमा भेटिने होमस्टे र होटलमा स्थानीयको परिकारको स्वादमा रमाउँदै बास बस्दाको आनन्द कति हो कति ।

हिमाली बस्तीमा साइनो गाँस्दै जडिबुटी, स्थानीय उत्पादनका परिकारको स्वादमा रमाउँदै हिउदमा हिउँ र बर्षातमा झरीमा रम्न हामी पनि एक पटक हिमालको काखमा अवस्थित सन्दकपुर अवश्य पुगौ ।
